माओवादीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्य ५० प्रतिशत घटाउन माग

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौं, २० भदौ । नेकपा माओवादीले खाद्य सम्प्रभुताका लागि संघर्ष चर्काउने उद्घोष गरेको छ । उसले राजधानीमा पत्रकार सम्मेलन गरि खाद्यान्नमा हाल बजारमा कायम मुल्यमा ५० प्रतिशत कम गरी मुलुकभर एकै मुल्य निर्धारण गर्न माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थमा पनि ५० प्रतिशत मुल्य घटाउन माग गरेको छ । माओवादीले कालो बजारिया र विचौलियाका कारण उपभोक्ताले चरम महंगी व्यहोर्नु परिरहेको भन्दै दैनिक उपभोग्य वस्तुमा अहिलेको मूल्यमा ५० प्रतिशत घटाउनुपर्ने माग अगाडि सारेको हो ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाण्डले सो माग राखेका हुन् । पार्टीको केन्द्रीय समितिको बैठकले उपभोक्ता दैनिकरुपमा महंगी र विचौलियाको मारमा परेको निष्कर्स निकाल्दै उक्त मूल्य निर्धारण गर्नुपर्ने निर्णय गरेको थियो । प्रवक्ता प्रकाण्डले खाद्य सम्प्रभुताका लागि पार्टीले संघर्षका कार्यक्रम पनि घोषणा गरे । ‘देशमा खाद्य सम्प्रभुता कायम गर्नका लागि इन्धन, एलपी ग्यास, आम नगरिकको दैनिक उपभोग्य वस्तु मुख्य गरी चामल, तरकारी, फलफूलको गुणस्तर कायम गरेर सबैमा अहिलेको उपभोग्य मूल्यमा पचास प्रतिशत मूल्य घटाउनुपर्छ’ उनले भने, ‘किसानबाट सस्तोमा धान ल्याएर उपभोक्तालाई चार गुण महंगीमा बिक्री गरेर सरकारले जनघात गरेको छ ।’
पत्रकार सम्मेलनमा बिचौलियालाई लखेट्ने हो भने सर्वसाधारणले ३० रुपैयाँमा गुणस्तर चामल प्राप्त गर्न सक्छन् । तर राज्यसत्तामा बस्ने दलालहरुका कारण उपभोक्ता सामान्य चामललाई समेत ८० रुपैयाँ तिर्न बाध्य भएको प्रवक्ता प्रकाण्डले ठोकुवा गरे ।
किसानसँग भएको धान बोटबाटै व्यापारीले प्रतिक्वीन्टल बाह्रदेखि पन्ध्र सयमा खरिद गरेर भारतको बाटो हुँदै युरोपियन मुलुकमा बिक्री गर्दै आइरहेका छन् । नेपालका राजधानी, शहर र ग्रामीण क्षेत्रमा पु¥याउने गुणस्तरहीन चामल भने धेरै मात्रामा भारतबाट खरिद गर्दै आइरहेको एक तथ्यांकले देखाएको छ ।
सरकारले चाहेमा उल्लेखित मूल्यमा पनि जनतालाई पचास प्रतिशत सहुलियत दिन सकिने प्रवक्ता प्रकाण्डले बताए । साथै नेपाली किसानको धान विदेश बिक्री गर्न रोकेर जनतालाई सस्तो मूल्यमा गुणस्तर चामल वितरण गर्न माग गर्दै जनतालाई धान उत्पादनमा राज्यले लगानी गर्नुपर्ने बताए ।
सरकारले दशैंअगावै खाद्य तथा इन्धन मूल्य तोक्ने आलटाल गरे उपभोक्ताका साथ लिएर कडा संघर्षको नेतृत्व पार्टीले गर्ने बताएका छन् । यसो गर्दा जनतालाई तत्काल राहत पुग्ने र खाद्य सम्प्रभुता कायम भई देशलाई आत्मनिर्भरको बाटो लैजान सकिने प्रकाण्डले ठोकुवा गरे ।
दशैंतिहार चाड नजिकिँदै गरेको अवस्थामा पार्टीले जनताको हितमा संघर्ष गर्न लागिएको भन्दै लुकाएर राखिएको चामल, दाल, तरकारी, ग्यास गोदाम खोल्न अभियानमा सहभागी हुन उपभोक्तालाई आह्वान गर्दै मिति सकिएका उपभोग्य वस्तु नष्ट गर्ने बताए ।
साथै प्रवक्ता प्रकाण्डले भदौ २० गतेबाट कार्तिक २८ गतेसम्म गरी सत्तरी दिने संघर्षका कार्यक्रम समेत सार्वजनिक गरे । यो अवधिको संघर्ष मुलतः राष्ट्रिय स्वाधीनता र खाद्य सम्प्रभुताका लागि उनले बताए ।
बैठकले राजनैतिक, संगठानिक, संघर्ष र आर्थिक नीतिलगायत विशेष महत्वका निर्णयहरु गरेको जानकारी सम्मेलनमा दिए । जनयुद्धका नेतृत्व धोक दिएर संसदीय भास फसेको भन्दै जनयुद्धको उद्देश्य र लक्ष्य हासिल गर्न बाँकी कार्यभार पूरा गर्न नेकपा (माओवादी)को नेतृत्वमा क्रान्तिकारी धु्रवीकृत सबैमा अपिल गर्ने निर्णय भएको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पार्टी स्थायीय समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ ले प्रेस विज्ञप्ति बाचन गर्दै दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूची सार्वजनिक गरे । सूचीअनुसार गुणस्तर चामलको मूल्य ३० रुपैयाँ तोक्न माग गरिएको छ । त्यसैगरी भरिएको प्रतिसिलिण्डर एलपी ग्यासको ९४७ रुपैयाँ दुई पैसा, खाली प्रतिसिलिण्डर १२०० रुपैयाँ तोक्न माग गरेका छन् । मट्टितेल प्रतिलिटर ४६ रुपैयाँ ५२ पैसा, डिजेल प्रति लिटर ४८ रुपैयाँ दुई पैसा र पेट्रोल प्रितिलिटर ४८ रुपैयाँ ५३ पैसा तोक्न कायम गर्नुपर्ने माग राखेका छन् । उल्लेखित मूल्यमा भारतबाट किनिएको खरिद मूल्यमा ढुवानी, ह्रास र कर जोडेर आउने मूल्य भएको बताए ।
पत्रकार सम्मेलनमा अर्का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले पार्टीको आठौं महाधिवेशन जनयुद्ध दिवसको अवसरमा आगामी फागुन १ खुलामञ्चमा उद्घाटन गर्ने जानकारी दिए । उनले महाधिवेशनको बन्दसत्र जनयुद्धका आधारइलाका रोल्पाको थवाङमा गरिने जानकारी दिए । नेता बस्तोलाले सरकारले आफ्ना मागहरु पूरा नगरे जनसत्तामार्फत कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]