प्रचण्ड सत्तालिप्सामा फसे : विप्लव

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६ असोज । नेकपा (माओवादी)का महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड भारतीय शासकसँग झुकेको ठोकुवा गरेका छन । प्रधानमन्त्री प्रचण्डले महाकाली सन्धि र पञ्चेश्वर आयोजनाविरुद्ध लडाईँ लडेको पार्टीले भारतसँग राष्ट्रघाटी सम्झौता गरेर नेपालीको शीर निहुराएको उनको दाबि थियो । शनिबार नेकपा माओवादी भक्तपुरले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बोल्दै महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड नेपाली जनताको शिर झुक्ने गरी राष्ट्रघात गरिरहेको बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै विप्लवले जनयुद्धको नेतृत्व गरेका ब्यक्तिले सामन्त र दलाल पुँजीवादी पार्टीहरुले भन्दा बढी जनतालाई धोका दिएर राष्ट्रघात गरेको बताए । प्रचण्ड माओवादीहरु विलय गराउने र सत्ता लिप्सामा फसाउने षड्यन्त्रमा लागेको भन्दै उनले भने ‘जनयुद्धमा टाउको मूल्य तोक्ने पार्टीको समर्थनमा सरकारमा बस्नुले प्रचण्डले क्रान्तिको सबै एजेन्डा छाडेर सत्तालिप्सामा फसेको स्पष्ट भएको छ ।’ समयले क्रान्तिको माग गरेकाले आफूहरुले क्रान्तिको नेतृत्व गरेको उनले बताए । नयाँ संविधानले नेपाली जनताको भावना समेटेको भन्दै जनताको संविधान आवश्यक भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]