महाभियोग सिफारिस समितिलाई खानतलासी गर्ने अधिकार

काठमाडौं, १२ कात्तिक । संसदको महाभियोग सिफारिस समितिलाई आरोपित व्यक्तिको कार्यालय र सरोकार रहने अन्य स्थानमा खानतलासी गर्ने अधिकारको समेत व्यवस्था गरिने भएको छ । महाभियोग अनुसन्धान र अभियोजनको समेत जिम्मेवारी पाएको समितिको कार्यविधि तय गर्दै समिति मातहतको उपसमितिले यस्तो कार्यविधि तय गरेको हो । उपसमितिले तयार पारेको कार्यविधि समितिमा पेस भएको छ । समितिको कात्तिक २६ गतेको बैठकले कार्यविधि पारितसम्बन्धी निर्णय लिनेछ । उपसमितिले समितिमा पेस गरेको कार्यविधि अनुसार समितिले अनुसन्धानका क्रममा आरोपितको कार्यालय, उनीसँग सम्बन्धित स्थानको आवश्यकता अनुसार खानतलासी गर्न पाउने छ । –गोरखापत्र दैनिकबाट