‘नक्कली पासपोर्टमा लण्डन जाँदा पक्राउ परेँ, कुटाई खाएँ’

काठमाडौ, १३ कात्तिक । नेपालमा हाम्रो पार्टीले सुरु गरेको जनयुद्धले विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढिरहेको थियो । देशभित्र माओवादी युद्धलाई दमन गर्ने नीतिअन्तर्गत तात्कालीन सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै हथकन्डा प्रयोग गरिरहेका थिए । हामी पनि त्यसको काउन्टरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा जनयुद्धको रक्षा, विकासका लागि उत्तिकै प्रचार–प्रचारमा लागिरहेका थियौँ । देशभित्र हाम्रा टाउकाको मूल्य तोकिएको थियो । यस्तो वेला अन्तर्राष्ट्रिय क्षेत्रमा जनयुद्धको विकासअनुसार प्रचारप्रसार पुगिरहेको थिएन । पार्टीले माथिल्लो स्तरबाटै प्रचारमा पहलकदमी लिने नीतिगत निर्णय लियो ।
म त्यसवेला पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा रिम कमिटीको सदस्य थिएँ । अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन पार्टीका तर्फबाट आफैँ विदेश पुगी अन्तर्राष्ट्रिय भाइचारा स्थापित गर्ने र नेपाली जनयुद्धको पक्षमा माहोल सिर्जना गर्ने निर्णय पार्टीको बन्यो । तर, जाने कसरी ? यस विषयमा रिम कमिटीमा पनि छलफल चल्यो । त्यो कमिटीले पनि हाम्रो पार्टीको त्यस्तो निर्णयलाई स्वागत मात्र गरेन, त्यसका लागि आवश्यक सहयोगसमेत पु-याउने निर्णय ग-यो ।
तर, युरोप कसरी जाने ? भिसा कसरी बनाउने ? सम्पूर्ण प्रक्रिया कसरी सुरक्षित बनाउने भन्ने चुनौती थियो । हामीलाई नेपालमा टाउकाको मूल्य तोकिएको अवस्था थियो । त्यस्तो वेला विदेशबाट नै कसैले पासपोर्ट सहयोग गरे सजिलो हुने सल्लाह भयो । त्यसका लागि साथीहरूले पहल गर्नुभयो । त्यहीवेला एकजना ब्रिटिसले नेपालको क्रान्तिका लागि मेरो सहयोग हुनेछ भनेर भारतमा भिसा लागेको आफ्नो पासपोर्ट मलाई उपलब्ध गराएर सहयोग गर्न तयार हुनुभयो ।
अर्काको पासपोर्टमा मेरो फोटो –
ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सें,को पासपोर्टमा मेरो फोटो टाँसियो । पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ ।
तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।
पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने ?’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण (मोहन वैद्य)लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।
अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटोे खुम्चिएको थियो, त्यहीँ हे-यो । उसले मेरो नाम के हो ? जान लागेको देशको कुन ठाउँ हो ? आदि इत्यादि सबै सोध्यो ।
‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।
उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम ! अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु ?’
त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न ।’
उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ ।
लन्डनमा के गर्नुहुन्छ ?
मैले लन्डनकै एउटा अस्पतालमा काम गर्ने बताएको थिएँ । उनी लन्डनकै रहिछिन् । जुन अस्पतालमा मैले काम गर्ने बताइरहेको थिएँ, ती महिलाका आफ्नै काका ‘सर्जन’का रूपमा काम गर्ने रहेछन् ।
उनले भनिन्, ‘मेरो काका पनि तपाईंले काम गर्ने अस्पतालमै काम गर्नुहुन्छ ।’ म उनलाई खुसी बनाएर बयानबाट फुत्कन चाहान्थेँ । मैले भने, ‘राम्रै भयो, तपाईं मेरै अस्पतालमा काम गर्ने साथीको आफन्त हुनुहुँदो रहेछ । केही खबर भए भन्नुहोला, हाम्रो भोलि नै भेट हुन्छ, म सुनाइदिन्छु ।’
तर, उनले आजै मात्र टेलिफोनमा काकासँग कुराकानी भएको बताइन् । उनले सोध्दै गइन्, ‘तपाईं अस्पतालसम्म केमा जानुहुन्छ ?’ मैले भने, ‘सुरुङ मार्ग हुँदै जाने टेनबाट जान्छु ।’
उनी त ‘काहाँबाट ट्रेन चढ्नुहुन्छ ? कतिवटा स्टेसन पार गरेर पुग्नुहुन्छ ?’ आदि–इत्यादि पो सोध्न थालिन् । त्यसको सम्पूर्ण फेहरिस्त मलाई जानकारी हुने कुरा भएन । थाहा नपाएको कुरा गल्ती भन्नुभन्दा नबोल्नु उचित ठानेँ । त्यसपछि मैले उनलाई भनेँ, ‘तपाईं एउटा ब्रिटिस सरकारको कर्मचारी, म एउटा ब्रिटिस पासपोर्ट प्रयोग गर्ने मान्छे । तपाईं मलाई किन यतिधेरै केराकार गरिरहनुभएको छ ? के तपाईं इन्डियन पुलिस अफिसर्स हो र ? तपाईं एउटा ब्रिटिस नागरिकको हैसियतमा बस्नुस् न । तपाईंलाई आफ्नै देशका नागरिकलाई यसरी केरकार गर्ने अधिकार कसरी मिल्छ ? त्यो पुलिस अफिसर्सले गर्ने काम हो ।’
उनी रातोपिरो भइन् । भनिन, ‘ल भइहाल्यो, अब म तपाईंलाई प्रश्न गर्दिनँ ।’ उनले त्यसपछि मलाई केराकार गराउन लगाएकाहरूलाई भनिदिइन्, ‘उहाँ लन्डनकै हो भन्नेमा म कन्फर्म छैन, जे गर्नुहुन्छ तपाईंहरू आफैँ गर्नुहोस् ।’
अनि कुट्न थाले,
त्यसपछि त म पक्राउ परिहालेँ ।
पक्राउ गरेपछि पनि मलाई उनीहरूको त्यही प्रश्न थियो, ‘तपाईं को हो ? काहाँ जान लाग्नुभएको ? हामीलाई तपाईंको पासपोर्टमाथि शंका छ । अब तपाईंका बारेमा अनुसन्धान हुन्छ ।’
मैले त्यही कुरा दोहो¥याइरहेँ । तर, उनीहरूले किन ती महिलाले पनि शंका छ भनिन् त ? भने ।
‘त्यो म कसरी जानूँ ? उनले किन मलाई शंका गरिन्, तपाईंहरू सोध्नुहोस् न के सोध्नुहुन्छ ? किन तपाईंहरू मलाई आधारविना गिरफ्तार गरिरहनुभएको छ ?’
विस्तारै उनीहरू कडा हुन थाले । ममाथि याताना दिन सुरु गरे । ‘यो पासपोर्ट तपाईंको होइन, नढाट्नुहोस्,’ उनीहरू भन्थे ।
मलाई रातभर सुत्न त के बस्नसमेत दिएनन् । अनिँदैमा रात बिताइयो । बिहान उनीहरूले एकजना ब्रिटिस हाइकमान्डको मान्छेलाई झिकाइसकेका रहेछन् । उनी बिहानै आइपुगे । आउनेबित्तिकै उनले भने, ‘तपाईंलाई कस्तो छ ?’
मैले भनेँ, ‘पहिले दिसापिसाब गर्ने वातावरण मिलाई दिनुहोस्, मलाई उहाँहरूले दिसापिसाब गर्नसमेत दिइरहनुभएको छैन ।’ उनले ‘उहाँलाई किन ट्वाइलेट जान नदिएको ?’ भने । त्यसपछि मात्र मैले दिसापिसाब गर्न पाएँ ।
दिसापिसाब गरिसकेपछि उनैले मलाई भने, ‘कफी खानुहुन्छ ?’ मैले ‘बिहानको समय हो, कफी पिउँदा राम्रै हुन्छ, प्लिज’ भनेँ । कफी खायौँ । उनलाई त्यो पासपोर्ट मेरो हो–होइन भनेर ‘भेरिफाई’ गर्न झिकाइएको रहेछ ।
‘तपाईंलाई यिनीहरूले मुद्दा लगाउने तयारी गरेका रहेछन्, हामीलाई अफिसियल्ली यो तपाईंले प्रयोग गरिरहेको पासपोर्ट भेरिफाई गरिदिन औपचारिक लेखेर पठाएकाले त्यही ड्युटी पूरा गर्न म यहाँ आएको हुँ ।’ म केही बोलिनँ । उनले अगाडि भने, ‘तपाईंले बोकेको पासपोर्ट पेरिसबाट ‘इस्यु’ भएको रहेछ, म अब त्यहीँ पठाइदिन्छु तपाईंको फोटो खिचेर । त्यहाँ फोटो मिल्यो भने म प्लेन टिकटसहित आउँछु, फोटो मिलेन भने म केही गर्न सक्दिनँ ।’
त्यसपछि मैले भने, ‘ठीक छ, तपाईं आफ्नो ड्युटी गर्नुहोस्, म कन्फर्म छु मेरो पासपोर्ट भेरिफाई भएर आउनेछ ।’
तर, उनी आएनन् । म निश्चित भएँ, ‘म फसेँ ।’
ममाथि प्रश्नको झटारो सुरु भयो, ‘तपाईं को हो ?’ मैले त्यही जवाफ दो-याइरहेँ ।- नयाँ पत्रिका दैनिकवाट