‘संसदवादी दलका नेता जनताको कठघरामा उभिनु पर्छ ‘

२०७३ मंसिर ५ गते, आईतवार

काठमाडौं, ५ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विस्तृत शान्ति सम्झौतामा प्रतिवद्धता विपरीत माओवादी र जनतालाई धोका दिएकाले संसदवादी दलका नेताहरुले जनताको कठघरामा उभिनु पर्ने बताएका छन । शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको अवसरमा जनअधिकार अभियानले आयोजना गरेको कार्यक्रममा महासचिव विप्लवले कठघरामा उभिने दिन अब टाढा नरहेको ठोकुवा गरे । उनले राजतन्त्र फ्याक्ने र गणतन्त्र ल्याउने क्रममा व्यक्त भएका प्रतिवद्धता विपरीत दल र नेताहरुले आफ्नो स्वार्थ र राष्ट्रघात गरीरहेकाले उनीहरुले सजिलै उन्मुक्ति नपाउने बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले शान्ति सम्झौताका नाममा प्रचण्डले दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले क्रान्तिको विकल्प नरहेको बताए । अब प्रचण्डहरु लम्पसार परिसक्नु भयो , उहाबाट परिवर्तनको संभावना छैन बैद्यले भने – सबै क्रान्तिकारीहरु एक ढिक्का भएर लाग्नु पर्छ ।
सोही कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विस्तृत शान्ति सम्झौता अपुरो रहेको भन्दै तै पनि यसलाई संस्थागत गर्नु पर्नेमा जोड दिए ।
उनले यसका कैयौ कमजोरी भएको र पूर्ण रुपले कार्यन्वयन हुन नसकेको भएपनि यसलाई जोगाउनु पर्ने तर्क गरे ।
यसै गरी एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले युद्ध जीतेको भए शान्ति सम्झौताको आवस्यकता किन पर्थ्यो ? भन्दै युद्ध जीत्न नसकेकै कारण सम्झौता भएकाले यथार्थतालाई आत्मसात गर्नु पर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिले जनता चुप लागेको जस्तो देखिए पनि उकुस मुकुस रहेको र कुनै पनि बेला दलहरु बिरुद्ध खतरा बढ्न सक्ने बताए । यसैगरी , नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरले जुन जुन उदेश्य र मर्मका साथ यो सम्झौता भएको थियो त्यो पालना नभएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]