‘पेट्रोलियम पदार्थको मूल्य बृद्धि जनघाती ‘

काठमाडौँ , ४ पुस । नेकपा (माआवादी)का महासचिव विप्लवले सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर जनघाती काम गरेको बताएका छन् ।विप्लवले आज विज्ञप्ति जारी गर्दै मध्यरातमा जनताको ढाड भाँच्ने गरी गरिएको मूल्य बृद्धि तुरुन्त घटाउन जोडदार माग गरेका छन । ‘नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीवीकामा विदेशी शक्ति त्यसमा पनि भारतीय विस्तारवादको प्रत्यक्ष हस्तक्षेप बढेर गएको छ । यहाँका दलालहरु यी विदेशी शक्तिको इशारामा नाँचिरहेका छन् । वर्तमान संसदीय राज्यव्यवस्थाले नेपाल र नेपाली जनताको भलो गर्न सक्दैन भन्ने कुरा पुनर्पुष्टि भएको छ । यो व्यवस्था र यसका सञ्चालकहरु राष्ट्रघाती र जनघाती हुँदै गएको छ । पछिल्लोक्रममा प्रट्रोलियम पदार्थको मूल्य बढ्नु यसको उदारहण हो’ विज्ञप्तिमा भनिएको छ ।
महासचिव विप्लवले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने तर प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाएको भन्दै विरोध गरेका छन् । ‘यसरी अत्याधिक मूल्य बृद्धि गर्नु आयल नगिमले गर्दै आएको घोटला, राज्य सञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुर्याउनु बाहेक अरु कुनै कारण छैन’ उनले भने ।
यस बिषयमा नेकपा (माआवादी)का महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिकाे पूर्णपाठ यस प्रकार रहेको छ – ” गए राती १२ बजे नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरातमा जनताको ढाड भाँच्ने गरी गरिएको यो मूल्य बृद्धि तुरुन्त घटाउन जोडदार माग गर्दछ । हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर निरन्तर संघर्ष गर्दै आएको छ । देशको अहिलेको अवस्था निकै नाजुक बनिरहेको छ । अहिले विगतमा जनताले गरेका संघर्ष र आन्दोलनबाट प्राप्त सीमित अधिकारहरु गुम्दै गएका छन् । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीवीकामा विदेशी शक्ति त्यसमा पनि भारतीय विस्तारवादको प्रत्यक्ष हस्तक्षेप बढेर गएको छ । यहाँका दलालहरु यी विदेशी शक्तिको इशारामा नाँचिरहेका छन् । वर्तमान संसदीय राज्यव्यवस्थाले नेपाल र नेपाली जनताको भलो गर्न सक्दैन भन्ने कुरा पुनर्पुष्टि भएको छ । यो व्यवस्था र यसका सञ्चालकहरु राष्ट्रघाती र जनघाती हुँदै गएको छ । पछिल्लोक्रममा प्रट्रोलियम पदार्थको मूल्य बढ्नु यसको उदारहण हो ।
यो मूल्य बृद्धि हुनुको अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको निर्यात गर्ने संगठनले मूल्यबृद्धि भनिएको छ । ओपेकले पेट्रोलियम कच्चा पदार्थको मूल्य त बढाएको छ । तर यति भारी मात्रामा बृद्धि गर्नु पर्ने कुनै कारण छैन । विगतमा तोकिएको मूल्य नै अझ पनि बढि रहेको छ । ओपेकका अनुसार आज भन्दा २ महिना अगाडि प्रति व्यारेल ४८.१५ डलर थियो । अहिले केवल ५१.८३ डलर मात्र रहेको छ । हिजो अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेको थियो । तर अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाइएको छ । यसरी अत्याधिक मूल्य बृद्धि गर्नु आयल नगिमले गर्दै आएको घोटला, राज्यसञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पु¥याउनु बाहेक अरु कुनै कारण छैन ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धिले यातायात, खाद्यान्न, ढुवानी, जनताले प्राप्त गर्ने सेवासुविधालाई प्रत्यक्ष प्रभाव पर्दछ । राष्ट्र बैंकले जति नै मूल्य बृद्धि घटेको भनिएता उपभोग्य बस्तु र सेवासुविधाको मूल्य घटेको छैन । यो मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाउँद छ । तसर्थ यो मूल्य बृद्धिलाई लिएर हाम्रो पार्टी र जनवर्गीय संगठनहरु आन्दोलनमा जान बाध्य भएको छ । उक्त आन्दोलनमा विगतमा झैं सबै पक्षको सहभागिता, ऐक्यबद्धता, समर्थन र सहयोग अपेक्षा राख्दछौं ।”