तीन वामद्वारा राष्ट्रिय स्वाधीनताको विषयमा संयुक्त संघर्षको घोषणा

२०७३ पुष ६ गते, बुधबार

काठमाडौं, ६ पुस । नेकपा (माओवादी) , नेकपा क्रान्तिकारी माओवादी र नेकपा मसालले राष्ट्रिय स्वाधीनताको विषयमा संयुक्त संघर्षका लागि कार्यगत एकता गरेका छन् । मसालको कार्यालय बागबजारमा बसेको तीन दलीय कार्यदलको बैठकले सो कार्यक्रमको घोषणा गरेको हो । बैठकमा सहभागी कार्यदलका सदस्य तथा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले जानकारी दिएअनुसार माथिल्लो कर्णाली, अरुण तेस्रो, विराटनगर स्थित भारतीय दूताबासको कन्सुलेट कार्यालयलाई लक्षित गरी संघर्षका कार्यक्रमहरु तय गरिएका छन् । प्राप्त जानकारी अनुसार पौष १६ गते काठमाडौंमा अन्तक्र्रिया गर्ने, पौष २२ गते सुर्खेतमा विरोध सभा गर्ने, २५ गते संखुवासभाको खाँदबारीमा विरोध सभा गर्ने र २९ गते विराटनगरमा विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।
संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलले प्रचारप्रसार, पर्चा पम्प्लेटिङ, नाराहरुको तय गर्ने र तीनवटै ठाउँको विरोधसभामा वक्ताहरु तोक्ने समाचार स्रोतले जनाएको छ । संयुक्त कार्यदलको बैठकमा क्रान्तिकारी माओवादीका नेताहरु रामसिंह श्रीस, हरिभक्त कँडेल, मसालका नेताहरु भैरव रेग्मी, , माओवादीका प्रवक्ता प्रकांड र गुणराज लोहनी सहभागी भएका थिए ।
संघर्षलाई माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका सम्पूर्ण राष्ट्रघाती जलविद्युत सम्झौता, पिडिए, पिटिए र नेपालको जलविद्युतमाथि भारतीय एकाधिकार स्थापित हुने गरी भारतले प्रस्तावित गरेको विद्युत व्यापार निर्देशिकालगायतका विरुद्धमा केन्द्रीत गरिने क्रान्तिकारी माओवादीका नेताहरुले जनाएका छन् ।
राष्ट्रियताको सवालबाहेक जनजीविकाका मुद्दाहरुमा पनि संयुक्त संघर्षका कार्यक्रम बनाएर जाने सहमति बनेको छ भने राष्ट्रियता र जनजीविकाका मुद्दाहरुमा एजेण्डा मिल्ने अन्य पार्टीहरुसँग पनि कार्यगत एकताको लागि पहल गर्ने तीनदलबीच सहमति बनेको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरुलाई आधार मानेर कार्यगत एकता गर्न खोजिएको भए पनि तत्काल जनतन्त्रन्तर्गत वर्तमान संविधानलाई हेर्ने र संघीयताको विषयमा तीन पार्टीबीचमा एजेण्डा नमिल्ने स्थिति देखिएपछि राष्ट्रियता र जनजीविकाका सवालमा कार्यगत एकता गर्ने समझदारी बनेको हो ।
तीन दलीय सहमति अनुसार कार्यगत एकतालाई निरन्तर रुपमा अगाडि लैजाने समझदारी गर्दै २२ अप्रिल(बैशाख ९)मा अक्टोबर क्रान्तिको शतवार्षिकी पनि संयुक्त रुपमा मनाउने निर्णय गरिएको छ । शतबार्षिकी बर्षभरि विभिन्न कार्यक्रम गरेर पार्टीगत हिसाबले मनाए पनि संयुक्त रुपमा मनाउने निर्णयले आम वामपन्थी क्रान्तिकारीहरुमा यसले राम्रो सन्देश जाने क्रान्तिकारी बुद्धिजीविहरुको विश्लेषण छ ।

प्रतिक्रियाहरु

[anycomment]