आज २२औ जनयुद्ध दिवस , कम्युनिस्ट आन्दोलनमा क्रमभंग हुँदै

२०७३ फाल्गुन १ गते, आईतवार

काठमाडौँ, १ फागुन । आज २२औ जनयुद्ध दिवस । नेपालमा जनयुद्ध सुरु भएको आज २१ वर्ष पूरा भएको छ । ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको घोषणा गरेको थियो । सामन्ती राज्य व्यवस्थाले पछाडि पारिएको वर्ग, लिङ्गलाई आधार बनाएको जनयुद्धले छोटै समयमा सर्वहारा वर्गीय आन्दोलनमा नयाँ आयाम थप्यो । ‘एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइनेछैन’ भन्ने राजनीतिक प्रतिवद्धताका साथ सुरु भएको जनयुद्ध १० वर्षमै समापन गरियो । जनयुद्ध आफ्नो लक्ष्य प्राप्त गर्न तत्कालिन नेतृत्व आफ्नो प्रतिबद्धताबाट पछि हटेर संसदीय राजनीतिक बाटोमा हिँड्यो ।
मूल नेतृत्वले राजनीतिक बेइमानी गरेपछि आमूल परिवर्तनलाई आफ्नो मुख्य लक्ष्य बनाएर युद्धमा हिँडेका माओवादी नेता, कार्यकर्ताहरू नयाँ आन्दोलनबारे बहसमा जुटे । राजनीतिक रूपमा जनयुद्धको मूल नेतृत्वसँगै यात्रा गर्न नसकिने भएपछि माओवादी आन्दोलनमा बिभाजन आयो । एउटा हिस्सा सिंहदरबारतिर लाग्यो भने अर्को हिस्सा क्रान्तिलाई संगठित गर्नतिर लाग्यो । क्रान्तिको लाइन समातेको नेतृत्वले दुईओटा विभाजनको सामना गर्दै पार्टी पुनर्गठन गरेर नेकपा (माओवादी) नाम राख्यो । जनयुद्धको मूल नेतृत्वसँगको विभाजन पछिको सातौँ महाधिवेशनको पहल गर्ने नेतृत्व फेरि आठौँ महाधिवेशनमा जुटेको छ । संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद स्थापनालाई राजनीतिक उद्देश्य बनाएको नेकपा (माओवादी) ले इतिहासमा पहिलो पटक नयाँ शैलीमा महाधिवेशन गर्दैछ ।
एकीकृत जनक्रान्तिको नयाँ सिद्धान्तलाई अगाडि सारेको माओवादीले शहर र गाउँलाई जोड्ने आफ्नो राजनीतिक कार्यक्रमअनुसार नै महाधिवेशन गर्दैछ । आज काठमाडाँैको खुला मंचमा उद्घाटन गरेर रोल्पाको थवाङमा बन्दसत्र गर्ने तयारी गरेको छ । यो सबैका लागि नयाँ हो । पार्टी विभाजन पछि दाङमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले संश्लेषण गरेको एकीकृत जनक्रान्तिका कार्यदिशालाई थप मजबुत र मूर्त बनाउन आठौँ महाधिवेशन आयोजना गरेको छ । विश्वमा फेरिएका अन्तरविरोध, चर्किरहेका संघर्ष, विज्ञान प्रविधिको विकास, माओवादी आन्दोलनमा देखापरेका धोका बेइमानीलाई महाधिवेशनले नयाँ ढंगले संश्लेषण गर्ने छ ।
स्टालिनको विषयमा पनि माओवादीले कठोर भएर समीक्षा गर्दै केही कमजोरी भए पनि स्टालिन महान् र क्रान्तिकारी नेता भएको निष्कर्ष माओवादीले निकालेको छ । स्टालिनबारे माओले गरेको विश्लेषणलाई पुनर्मूल्यांकन गर्नुपर्ने बेला आएको माओवादीले दाबी छ । महाधिवेशनको लागि महासचिव विप्लवको तर्फबाट तयार भएको राजनीतिक दस्तावेजको पृष्ठ २८ मा भनिएको छ, ‘लेनिनको निधन समाजवाद सुदृढ नहुँदै हुनु, स्टालिनलगायत क्रान्तिकारी पंक्तिमा समाजवादी सत्ता संचलानको अनुभव नहुनु, संशोधनवादीहरूसँग भीषण संघर्ष चल्नुजस्ता वस्तुगत र आत्मगत कारणले स्टालिनबाट केही कमजोरी भएनन् भन्न सकिँदैन । परन्तु समाजवादको रक्षा र विकासका साथै विश्वभरका क्रान्तिकारीहरूलाई कमरेडली सहयोग स्टालिन भएर मात्र सम्भव भएको थियो । तसर्थ हामीले स्टालिनबारेका दूषित प्रचारलाई चिर्नुपर्छ र स्टालिनको कम्युनिष्ट क्रान्तिकारी एवं अन्तर्राष्ट्रिय व्यक्तित्वलाई निर्भयका साथ रक्षा गर्नुपर्छ ।’ दस्तावेजको त्यही पेजमै स्टालिनलाई दृढताका साथ पक्रनुपर्ने बताउँदै स्टालिनले सर्वहारा वर्गप्रति गरेको जिम्मेवारीलाई स्थापित र स्टालिनका शिक्षाहरूलाई क्रान्तिकारीहरूले प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
दस्तावेजले कम्युनिष्टहरूले रट्दै आएको दर्शनमा पनि नयाँ बहस सिर्जना गरिएको छ, ‘संसारको व्यख्या गर्नुभन्दा मुख्या कुरा बदल्नु हो’ भन्ने माक्र्स भनाईलाई विकास गर्नुपर्ने भन्दै विप्लवले दस्तावेजको पृष्ठ ६२ मा लेख्नुभएको छ, ‘संसारलाई बदल्नु मात्र मुख्या कुरा होइन, बदलिएको संसारलाई रक्षा र विकास गर्नु मुख्या कुरा हो ।’ यसबारे महासचिवले थप्नुभएको छ, ‘क्रान्ति र प्रतिक्रान्तिमा र समाजवाद पुँजीवादमा पुनरावृत्त हुनसक्दोरहेछ । क्रान्तिलाई प्रतिक्रान्तिबाट बचाउन र समाजवादलाई पुँजीवादबाट क्रान्ति र समाजवादको रक्षा र विकास गर्नु मुख्य कुरा बन्न आएको छ ।’
त्यसैगरी विपरीतको एकत्वलाई गलत ढंगले बुझिएको भन्दै त्यसलाई परम्पगत बुझाईमा क्रमभंग गरिएको छ । दस्तावेजमा विपरितहरूको एकत्व र दुई लाइन संघर्ष फरक–फरक विषय भएको कुरामा जोड दिँदै भनिएको छ, ‘पार्टी जीवनका लागि विपरितको अस्तित्व अनिवार्य हो तर दुई लाइन संघर्ष अनिवार्य होइन ।’ दस्तावेजको सोही पृष्ठमा सहजातीय वा सहवर्गीय विचारबीचको प्रतिस्पर्धा र अनुसन्धान भन्दै विपरित विचार पार्टीको विभाजन वा विघटन हुने भन्दै वस्तुको जीवन विपरितको एकत्वमा नभएर विपरितको संघर्ष र रूपान्तरणमा जीवन हुन्छ भन्ने निष्कर्ष दस्तावेजमा गरिएको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको लागि नयाँ विषय हो ।
त्यसैगरी, दस्तावेजमा साम्राज्यवादको चरित्रबारे पनि चलनचल्तीको भन्दा केही फरक कुरालाई उठाइएको छ । लेनिन व्यख्या गरेको साम्राज्यवादको चरित्र नभएको भन्दै नयाँ व्यख्या गर्न खोजिएको छ । अहिलेको साम्राज्यवादको चरित्रमा लेनिनको पालाको जस्तो नभएकाले नयाँ रूप र चरित्रअनुसार साम्राज्यवादको व्यख्या गरे मात्र साम्राज्यवाद विरोधी क्रान्ति सफल हुने बताइएको छ । “विकसित पुँजीवादी, साम्राज्यवादी विशेषतालाई पुरानै रूपमा साम्राज्यवाद मात्र भन्नभन्दा नयाँ विशेषतासहित अगाडि आइरहेकाले साम्राज्यवादलाई चरित्रअनुरूपको मिल्दो शब्द ‘उत्तर’ थपेर अर्थात फेरिएको, पछिको वा पछिल्लो र अतिमा पुगेको अर्थ बुझाउने उत्तरसाम्राज्यवाद भन्नु वस्तुवादी हुन्छ” दस्तावेजको पृष्ठ ६५ मा भनिएको छ । नागरिकलाई भ्रम दिन साम्राज्यवादले प्रतिस्पर्धात्मक, लोकतान्त्रिक, समावेशी, समानुपातिक, लोककल्याणकारी, मावनअधिकारको रूप दिन खोजेको नयाँ व्यख्या आवश्यक भएको भनिएको छ । दस्तावेजमा साम्राज्यवादका राजनीतिक, आर्थिक, साँस्कृतिक र प्राविधिक विशेषतालाई पनि व्याख्या गरिएको छ । यसले नेपाली कम्युनष्टि आन्दोलनलाई मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत बहस ल्याउने देखिन्छ । कम्युनिष्ट पार्टी संचालनबारे पनि माओवादीले नयाँ बहस गर्दैछ । लेनिनले विकास गरेको जनवादी केन्द्रीयताका नियम ठिक भएको र अहिले त्यतिले मात्र नपुग्ने भन्दै त्यसमा पनि विकास गर्नुपर्ने अवश्यकता रहेको दस्तावेजमा उल्लेख गरिएको छ । लेनिनवादी नियमसँगै नेतृत्व प्रणालीमा आवधिक प्रणाली पनि विकास गर्नुपर्ने जोड दिइएको छ । कम्युनिष्ट पार्टी निर्माण र संचालन गरेर मात्र कम्युनिष्ट समाज निर्माण गरेर मात्र कम्युनिष्ट सत्ता टिकाउन सकिने निष्कर्ष दस्तावेजमा छ । कम्युनिष्ट नेताहरूले निश्चित समयसम्म मात्र नेतृत्वमा बसेर नेताहरू समाजको सदस्यमा बसेर समाजलाई कम्युनिष्ट बन्न उत्प्रेरित गर्नुपर्ने कुरालाई जोड दिइएको छ । संगठनात्मक रूपमा मात्र नभएर विचारधारात्मक रूपमा संगठित हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी माओवादीले कम्युनिष्टका आर्थिक प्रणालीको व्यख्या गर्दै भनिएको छ, “पार्टी नेतृत्वमा बसेका र कम्युनिस्ट नेताहरूको नीति, क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुनुपर्छ । वैभव र विलासी जीवनको अन्त्य गर्नुपर्छ भने सुव्यवस्थित र सरल जीवनको निर्माण गर्नुपर्छ” दस्तावेमा भनिएको छ । हरेक कार्यकर्ता श्रममा जोडिनै पर्ने नीति लागू हुनुपर्ने उल्लेख गरिएको छ । दस्तावेजको ७२ पृष्ठमा नेताहरू आदर्श, त्याग र सरलता, कार्यकताको मेहनत, त्याग र उन्नति र जनताको श्रम, समृद्धि र स्वतन्त्रताको कुल योग नै वैज्ञानिक समाजवाद हुनुपर्ने कुरालाई पनि बहसमा ल्याएको छ । यो व्यवस्था पुँजीवाद, साम्राज्यवा र दलाल पुँजीवादभन्दा हजारौँ गुणा उन्नत, समृद्ध र सभ्य समाज हुने कुरा दस्तावेजमा उठाइएको छ ।
त्यस्तै यो महाधिवेशनको अर्को चर्चाको विषय भनेको पार्टीको नाम हुनेछ । पार्टीको नाममा विशेषण नजोड्न प्रस्ताव गरिएको छ । जनयुद्ध लडेर आएको पार्टीले नामबाट ‘माओवादी’ शब्द हटाउनु प्रस्तावले नै चर्चा पाउनु स्वभाविकै हो । मुख्य कुरा पथप्रर्दशक सिद्धान्त हो र नाम प्राविधि कुरा हो । क्रान्तिकारी र अवसरवादी धारबीचको संघर्षको बीचमा २०५१ मा पार्टीको नाममा नेकपा ‘माओवादी’ राखेको प्रसंगलाई जोड्दै जनयुद्ध हुँदै संविधान सभाको पहिलो चुनावसम्म माओवादी पार्टीको पहिचान त्याग, बलिदान, देश र जनताको रक्षक, सत्य र न्यायको प्रतिक भएको तर प्रचण्ड–बाबुरामको आत्मसर्पण र विसर्जनले माओवादीलाई विचलन र विकृतिको प्रतिक बनाउन खोजिएको र आफ्नो पार्टीले त्यसलाई सुल्टोतिर फर्काएको उल्लेख गरिएको छ । त्यो पूरा सफा भइनसकेको भनिएको छ ।
त्यसैगरी नाम परिवर्तनबारे अर्को तर्क यसरी अगाडि सारिएको छ, “कम्युनिष्ट पार्टी विश्वसर्वहारा वर्गको अग्रदस्ता हुनुको कारण कुनै सन्दर्भमा उपनाम जोड्नु परे पनि वास्तवमा कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नै हो”, दस्तावेजमा अगाडि लेखिएको छ, “नेपाली सन्दर्भबाट हेर्दा प्रायः सबै कम्युनिष्ट पार्टीहरूको पछाडि कुनै न कुनै उपनामहरू जोडिएको स्थिति छ । कम्युनिष्ट पार्टीको नामले मात्र संगठित र सञ्चालित पार्टी खासै छैन । यसरी सबै पाटाबाट हेर्दा हामीले पार्टीको नाम कम्युनिष्ट पार्टी मात्र राख्दा वस्तुवादी त हुन्छ नै सँगै सहज, सरल र सजीव पनि हुनेछ ।” यो पनि नेपाली कम्युनिष्ट मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनको लागि नयाँ बहस हो ।
पार्टीका नाममा कुनै उपनाम नजोड्ने बहसले कम्युनिष्ट पार्टीहरूले आफ्ना पछाडि उपनाम जोड्ने होडबाजीलाई धक्का नै दिने देखिन्छ । यदि महाधिवेशनले यो प्रस्तावलाई पारित ग¥यो भने जनयुद्धका गुण र दोषबाट पछि हटेको आरोप त आउने नै छ । यो आरोपलाई माओवादीले लिने अन्य नीति तथा कार्यक्रमले सजिलै चिर्ने देखिन्छ । माओवादीले जातिय र वर्गीय मुक्तिको सावललाई नयाँ ढंगले बहस उठाएको छ । नेपालमा मुख्य गरी १३ राष्ट्रलाई ठोस गरेको छ । जसमा क्षेत्री–ब्राह्मण, थारु, मगर, गुरुङ, नेवार, तामाङ, अबध, भोजपुरा, मिथिला, राई, लिम्बू, कर्णाली (खसान) र सेती–महाकाली खसान रहेका छन् ।
जातीय उत्पीडनबाट मुक्ति पाउन जातीय राज्य बने हुने र वर्गीय भए गुग्छ भन्ने दुबै विचारलाई गलत भन्दै दस्तावेजमा भनिएको छ, “जसले जातिको रजाइ बने पुग्छ वा अर्को जातिको विरुद्ध लडे पुग्छ भन्छन् ती सामन्तवादी र पुँजीवादी विचारभन्दा अगाडि नबढेका मान्छेहरूका विचार हुन् । ती विचारमा केवल जातीय सत्ताको मात्र कुरा छ, जनताको मुक्तिको कुरा छैन ।” त्यस्तै वर्गीय मुक्तिको कुरा मात्र गर्ने विचारलाई जनवादी स्वतन्त्रतालाई पक्रन नसकेका विचार भएको उल्लेख गरिएको छ । जातीय र वर्गीय मुक्तिको सवाललाई पनि नेपाली कम्युनिष्टहरूले रट्दै आएको भन्दै केही फरक दृष्टिकोण आएको छ । यसले नेपाली क्रान्तिकारी कम्युनिष्टहरूको जातीय र वर्गीय मुक्तिको प्रश्नमा स्पष्ट धारणा राख्न सक्नेछन् । दस्तावेजमा उठाइएका कुरालाई हेर्दा जनयुद्धका समापनपछि अन्यौलमा रहेको क्रान्तिकारी धारालाई बामे सर्न लगाउने निश्चित छ । पाइला चलेको क्रान्तिकारी धाराले अवसर र चुनौतीबीच ठूलो आकार लिने सम्भवना पनि त्यतिकै छ । फागुन १ गते काठमाडौँ उद्घाटन गरेर पाँच गतेदेखि १० गतेसम्म थवाङमा बन्दसत्रले दस्तावेलाई थप परिस्कृत गर्दै विचारको तहमा संश्लेषण गर्नेछ । महाधिवेशनले विचारसँगै नेतृत्वको शृंखला पनि तयार गर्नेछ । उक्त नेतृत्वको भावी क्रान्तिमा गर्ने निर्णयको अधिकार पनि लिनेछ । अधिकार सम्पन्न नेतृत्वले चाल्ने कदमले संसदीय व्यवस्थामा ठूलो भुइँचालो आउने छ भने जडमा अल्झिएको कम्युनिष्ट आन्दोलनमा क्रमभंग हुने छ । – दिपेन्द्र रावल

प्रतिक्रियाहरु

[anycomment]