‘हामीलाई कुल्चने सपना नदेखे हुन्छ ‘

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शासकहरुलाई निरंकुश नबन्न चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिबेशनले तय गरेका नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्न काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा महासचिव विप्लवले दलाल–पुँजवादीको इसारामा जनतालाई कुल्चन गरिने स्थानीय चुनावलाई जनसत्तामार्फत ध्वस्त पार्ने बताए । त्यसका निम्ति जनसत्तालाई देशभर तीव्रता दिइने उनले बताए । महासचिव विप्लवले भने ‘दलाल–पुँजवादीको इशारामा जनतालाई कुल्चन गरिने चुनावले प्रचण्डलाई नै सिध्याउँछ, हामीलाई कुल्चने सपना नदेखे हुन्छ ।’
सरकारले आगामी बैशाख ३१ गतेको लागि घोषणा गरेको चुनाव अर्थहीन भएको बताउँदै यसले जनताको अधिकार थप खोस्नेबाहेक केही नहुने बताए । उनले भने ‘प्रचण्डले बोकेर आउने संसदीय चुनावले उनैलाई सिध्याउनेछ ।’ देशमा समानान्तर सत्ता चलिरहेको अवस्था सरकारले एक पक्षीय रुपमा गर्न लागिएको चुनाव विफल हुने उनले बताए । प्रचण्डले तानाशाही र फासिष्ट तरिकाबाट चुनावको कार्यक्रम ल्याएको उनको भनाई छ ।
‘जनयुद्धकालमै तीन पटकसम्म फालिएको चुनाव बोकेर प्रचण्ड सरकारको तहबाट आएका छन् । हामीलाई कुल्चेर चुनाव लादेर बढ्ने सोच उनले राखेका छन् । तर उनलाई चुनावले बचाउन छैन ।’ उनले थप भने– ‘हामी जस्तोसुकै परिस्थिति सामना गर्न तयारै छौं ।’
महाधिवेशनले जनसत्तालाई देशभर सुदृढ पार्ने, वैदेशिक रोजगारी नाममा नेपाली युवा–युवतीलाई विदेशमा तस्कर गरिरहेकाविरुद्ध संघर्ष गर्ने, दलाल, तस्कर, भ्रष्टाचारीहरुमाथि सख्त कारवाही, देशलाई पराधीन बनाउने भारतसँगका १९५० लगायत सन्धि खारेज गर्नुपर्नेलगायत समसायिमक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको थियो ।
एक अर्को प्रसंगमा आत्मनिर्णयको अधिकार स्वाधीन राष्ट्रहरुले प्रयोग गर्न सधैं खुला रहने र भारत साम्राज्यवादी शक्ति नै भएको ठोकुवा गरे । संसदीय व्यवस्थाले दलाल–पुँजीवादको विकासबाहेक केही गर्न नसक्ने भन्दै उनले वैज्ञानिक समाजवादी सत्ता स्थापनामा लाग्न सर्वसाधारणमा आग्रह गरे । वैज्ञानिक समाजवादी सत्ताले नीजि स्वतन्त्रताको ग्यारेन्टीसहित स्वास्थ्य, शिक्षा निशुल्क तथा क्षमता अनुसार काम, आवश्यकता अनुसार दाम दिने व्यवस्था सुनिश्चत गरिने बताए ।
आफनो पार्टीको नेतृत्वमा शासन व्यवस्था आएमा आठ–दस वर्षमा उथलपुथलकारी परिवर्तन ल्याई नागरिकको जीवन समृद्ध हुने बताए । संसदीय व्यवस्थाले देशलाई द्वन्द्व, अस्थिर तथा अराजकतामा लैजाने उनको भनाई छ ।
सबै दलाल पूँजीवाद जनतालाई ओरोलोतर्फ डोहो¥याउने रोग भएको बताउँदै देशभक्त र राष्ट्रवादीहरु महाधिवेशनबाट पारित एकीकृत जनक्रान्तिको कार्यदिशामा एकतावद्ध भई त्यसिविरुद्ध लड्नुको विकल्प नरहेको उनले बताए ।
पार्टीले ईमान्दार कार्यकर्तालाई पुरस्कृत गर्ने, जिन्दगीभर आन्दोलनमा भाग लिने नेता कार्यकर्तालाई भरणपोषणको ग्यारेन्टी गर्ने तथा देशभर सहिद पार्क निर्माण गर्ने बताए ।
महाधिवेशनले भारत, पेरुका शासकले बन्दी बनाइएका त्यहाँका कम्युनिष्ट पार्टीका सयौं क्रान्तिकारी नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ । महाधिवेशन गत फागुन १ गते काठमाडौंमा उद्घाटन भई फागुन ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र सम्पन्न भएको थियो ।