‘ केपी दाई ! तपाईँ राष्ट्रवादी हो भने काँग्रेस आईसँग साँठगाँठ किन ?’

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एमाले अध्यक्ष केपी ओलीको भारतीय काँग्रेस आईसँग मिलेमतो रहेको ठोकुवा गरेका छन् । १०७अाैं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा काठमाडौँकाे शान्तिवाटिकामा अयोजित जनसभालाई सम्बोधन गर्दै नेता सुदर्शनले बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्ने नेता कहिल्यै राष्ट्रवादी हुन नसक्ने भन्दै केपी ओलीले राष्ट्रवादीको भ्रम दिइरहेको बताए । नेपालमा महिलाहरु नै उच्च ओहदामा रहेको बेला बोक्सी र दाइजो नल्याएको आरोपमा महिलाहरु मारिनु दुःखद रहेको बताए ।
सुदर्शनले आफनो पार्टीले थवाङ महाधिवेशनबाट नयाँ कार्यनीति र रणनीति अवलम्बन गरेकाले अब कतै संसदीय ब्यवस्थासामू नझुक्ने तर्क गरे । ‘प्रचण्ड र बाबुरामले हदैसम्मको गल्ती गरेकाले इतिहासले उनीहरुलाई कठघरामा उभ्याउने छ’ उनले भने । सत्तासीन नेताहरुतिर लक्षित गर्दै उनले भने, ‘संसदवादीहरु उत्तर साम्राज्यवादको बढावामा लागेका छन्, त्यसलाई ध्वस्त पार्नुपर्छ ।’ वैज्ञानिक समाजवादमा मात्र महिला पूर्ण मुक्ति हुने भन्दै त्यसको लागि तयार हुन महिलालाई उनले अाग्रह गरे । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढा, महिला नेतृ उमा भुजेल, बन्धु चन्द, खुमा सुबेदी, धिरेन्द्र उपाध्याय तथा अधिवक्ता एकराज भण्डारीलगायतले ८ मार्च र नेपाली महिला मुक्तिबारे चर्चा गरेका थिए ।
सभाको आयोजना अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले गरेको थियो ।