‘ लैनचौरमा दुतावास राख्ने भए कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर ‘

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डले भारतलाई लैनचौरमा दुतावास राख्ने मन भए कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । पार्टीले कञ्चनपुर हत्याको विरोधमा सम्वाद डवलीमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेता प्रकाण्डले सो कुरा बताएका हुन् । नेपालमाथि भारतको हस्तक्षेपको श्रृङ्खला हत्याको स्तरसम्म पुग्दा पनि नेपाल सरकारले कुनै कदम नचालेको भन्दै प्रकाण्डले आक्रोश व्यक्त गरे । उनले नेपाली भूमीमा भारतीय एसएसवी हतियार लिएर घुम्ने, नेपाली वस्तीमा दिनदहाडै आक्रमण गर्ने, घरहरु भत्काउने, नेपालीहरुमाथि लुटपाट मच्चाउने जस्ता अत्यन्तै आपत्तीजनक गतिविधिप्रति नेपाल सरकार चुपचाप भएको भन्दै उनले सरकारको धारणा माग गरे ।
त्यसैगरी नेता प्रकाण्डले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन हुन नसक्ने बताए । निर्वाचन घोषणा लगत्तै सप्तरीमा भएको घटना र कञ्चनपुर घटनाले निर्वाचनले निम्त्याउने परिणामको संकेत गरेको उनले बताए । निर्वाचनले देशमा अस्थिरता, आतङ्क र ठूलो द्वन्द्व निम्त्याउने उनले बताए । राष्ट्रलाई निकास दिनेभन्दा रगतको खोलो बगाउने निर्वाचन जवरजस्त नलादन संसदवादी राजनीतिक दल र सरकारलाई आग्रह गर्दै निर्वाचनलाई रोक्न माग गरे । नेता प्रकाण्डले भारतीय साम्राज्यवादीहरुबाट बारम्वार हुँदै आएको सीमा अतिक्रमण, हस्तक्षेप र आतंकले मुलुकको स्वतन्त्रता माथि नै प्रश्न चिन्ह उठेको भन्दै मुलुक संकटमा परेको अवस्थामा सम्पूर्ण राष्ट्रवादी शक्तिहरुको एकता आवश्यक भएको समेत बताए ।
बिहीवार दिउसो कञ्चनपुर जिल्लाको नेपाल भारत सीमास्थित पुनर्वास नगरपालीका वडा नं.८ आनन्दबजारमा भारतीय सीमा सुरक्षा वल एसएसवीले नेपालको भूमिमा प्रवेश गरी गोली चलाउँदा ३२ वर्षीय गोविन्द गौतमको ज्यान गएको थियो भने ६ जना गम्भिर घाईते भएका थिए । सीमा क्षेत्रमा बनाईएको कल्भर्टमा माटो पुर्ने क्रममा भारतीय क्षेत्रबाट माटो खनेको सामान्य विवादलाई लिएर भारतीय पक्षबाट पटकपटक ज्याजती भएपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । बुधवार राति एसएसवीका जवान सीमावारि आएर नेपालीलाई कुटपिट गरेपछि विरोधमा उत्रिएका स्थानियवासीलाई प्रहार गरेको गोली लागी गौतमको ज्यान गएको हो ।