मुसहरहरुद्वारा चुनाव बहिस्कार गर्ने घोषणा

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं,३१ चैत । सुनसरीका मुसहरहरुले स्थानीय चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् । सुनसरीको पुलाह भरौलका २८ घर परिवार मुसहरहरुले संयुक्त रुपमा चुनाव बहिस्कार गर्ने घोषणा गरेका हुन् । ‘चुनाव बहिस्कार’ अभियानको क्रममा नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज कृष्णकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीसँग मुसहरहरुले स्थानीय चुनावमा भोट नहाल्ने घोषणा गरेका हुन् । यसअघि अाफूहरुले एमालेलाई भोट दिएको तर अाफूहरुको माग पूरा नगरेको भन्दै मुसहर बस्तीले यसपटकको चुनावमा भोट नहाल्ने एक मतले घोषणा समेत गरेका थिए ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी सुनसरीले चुनाव खारेजीमा सहयोग गर्न जिल्लास्थित सरकारी कार्यालय प्रमुखसँग अाग्रह गरेको छ । सरकारले घोषणा गरेको स्थानीय चुनावविरुद्ध खारेजी अभियानको क्रममा सो अाग्रह गरिएको हो । पार्टीका जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’को नेतृत्वमा जिल्लास्थित सरकारी कार्यालय प्रमुखसँग छलफल गरेको छ । इन्चार्ज प्रज्वलको नेतृत्वमा जिल्ला विकास समन्वय परीषद्, जिल्ला वन कार्यलय, भुमिसुधार कार्यलय, शिक्षा, कृषियातायात लगायतका कार्यालय प्रमुखसँग छलफल गरेको हो । छलफलको क्रममा कार्यालय प्रमुखहरुले नेपाल कम्युनिस्ट पार्टीले चलाएको अभियानमा नैतिक समर्थन रहेको तर सरकारको निर्देशन मान्न अाफूहरु बाध्य रहेको बताएको इन्चार्ज प्रज्वलले बताए । ‘सबै कार्यालय प्रमुखहरुसँग छलफल भयो, हाम्रो अाग्रहमा नैतिक समर्थन गर्नु भयो तर अाफ्नो बाध्यताबारे पनि उहाँहरुले कुरा राख्नुभयो’ इन्चार्ज प्रज्वलले भने । प्रमुखहरुले अाफूहरुको चुनावी सभागीतालाई पार्टीविरुद्ध लागेको रुपमा नबुझिदिन अाग्रह समेत गरे ।
सुनसरीको ईनरुवाबाट इन्चार्ज प्रज्वलको र धरानतर्फबाट जिल्ला सेक्रेटरी युगेन राईको नेतृत्वमा अभियान जारी छ । अभियानको क्रममा घरदैलो भेटघाट, कोणसभा, जनसभा, अन्तरक्रिया, भित्तेलेखन, पोष्टरिङका साथै पार्टीका कार्यदिशा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको विषयमा पनि छलफल भएको सेक्रेटरी राईले जानकारी दिए । उनका अनुसार गाउँमा भएको भ्रष्टाचारको सूची तयार पनि पारिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]