नेकपा जनवादी गायकहरुलाई सम्मान गर्दै

२०७४ बैशाख १३ गते, बुधबार

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज जनवादी गायकहरुलाई सम्मान गर्ने भएको छ । जनवादी गायक खुशीराम पाख्रिन, रायन, जेबी टुहुरे, जीवन शर्मा र कवि पूर्ण विरामलाई अाज काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नेकपाका महासचिव विप्लवद्वारा विशेष कार्यक्रमको अायोजना गरी सम्मान गर्न लागेको नेकपाले बताएको छ । महासचिव विप्लवले जनवादी गीतको माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई गाउँगाउँ र बस्तीबस्तीसम्म पुर्‍याएको भन्दै सम्मान गर्नुपर्ने बताउदै थिए ।
पहिलो चरणमा पहिलो पुस्ताको जनवादी कलाकारलाई सम्मान गर्ने र विस्तारै भूमिकाको हेरेर युवा पुस्ताका जनवादी कलाकारहरुलाई सम्मान गर्दै जाने नेपाल कम्युनिस्ट पार्टीको योजना छ । जनयुद्धमा खुशीराम पाख्रिन ‘भोका नाङ्गा नानिहरु ..’ जस्ता दर्जन गीत गाउँदै गाउँबस्तीमा पुगेका थिए । रायनको ‘गाउँ गाउँबाट बस्ती बस्तीबाट..’ जेबी टुहुरेको ‘दमन सहेर..’, जीवन शर्माको ‘सिमली छायाँमा …’ निकै चर्चित गीत हुन् । सर्वसधारणले निकै मन पराएका गीत हुन् । उनीहरुले यस्ता दर्जनौँ गीत गाएका छन् । यी र यस्तै गीतले कम्युनिस्ट विचारलाई जनताको मनसम्म पुर्‍याएको छ ।
त्यस्तै कवि पूर्ण विरामले कविताको माध्यमबाट जनवादी आन्दोलनलाई ठूलो योगदान पुर्‍याएका छन् । धेरै युवाहरु उनका कविता पढेर नै जनयुद्धमा हाम फालेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]