काँग्रेसद्वारा चुनाव बहिस्कार (विज्ञप्तिसहित)

२०७४ बैशाख १४ गते, बिहीबार

काठमाडौं, १४ वैशाख । नेपाल समाजवादी कांग्रेसले चुनाव बहिस्कार गर्ने उदघोष गरेको छ । उसले अाफूलाई गणतन्त्र स्वीकार्य नभएको भन्दै नेपालको अावश्यकता संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र भएकाे बताएको छ । ‘राज्यलाई नियन्त्रण गर्ने र समाजलाई विखण्डित गर्ने संघीयता र गणतन्त्र हामीलाई स्वीकार्य छैन्, नेपालको आवश्यकता संवैधानिक प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापना हो’ बिहीबार पत्रकार सम्मेनलमा महासचिव गोविन्द निरौलाले भने । उनले स्थानीय निर्वाचनले समाज विखण्डन गर्ने भन्दै बहिस्कार गर्ने घोषणा गरे ।
महासचिव निरौलाले संविधानसभाबाट जारी संविधान देशको हितमा भएको समेत बताए । उनले समाज विखण्डन गर्ने पश्चिमा मुलुकको ग्राण्ड डिजाइन भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा निरौलाले स्थानीय तहको निर्वाचन सत्ता पक्षको मात्रै भएको भन्दै भने, ‘यो सत्ता पक्षको चुनाव हो । मल्टीपार्टी सिस्टममा दलहरुलाई चुनाव चिन्ह नदिने कदमले यसलाई पुष्ट्याउँछ । यदि देशमा बहुदल छ भने निर्वाचन आयोगमा दर्ता भएका सबै दलले चुनाव चिन्ह पाउनुपर्छ ।’
‘स्थानीय निर्वाचनको माध्यमबाट राज्यलाई गृहयुद्धमा फसाउने काम गरिरहेको छ नेपालको वर्तमान सरकारले । राज्य संरचनाको प्रक्रियाबाट स्थानीय तहका राजनीतिककर्मीहरुको अस्तित्व समाप्ति गरिएको छ’ पत्रकार सम्मेनलमा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]