माओवादीद्वारा प्रहरीलाई जनसेनामा भर्ना हुन आह्वान

२०७४ बैशाख १५ गते, शुक्रबार

काठमाडौं , १५ बैशाख । भारतीय माओवादीले अाफूहरु हिंसा प्रेमी नभएको भन्दै प्रहरीलाई जनसेनामा भर्ना हुन अाह्वान गरेको छ । अप्रिल २४ मा भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको घटनाबारे भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को दण्डकारण्य विशेष जोनल कमिटीका प्रवक्ता विकल्पले अडियो टेप सार्वजनिक गर्दै सो अाह्वान गरेका हुन् । जनमेल अनलाइनका अनुसार अप्रिल २७ मा सार्वजनिक गरिएको ६ मिनेट लामो टेपमा जनताको मुक्तिका लागि लडिरहेका माआवादीहरू विरुद्ध सरकारका तर्फबाट लादिएको युद्धलाई चुनौती दिन, आदिवासी महिला तथा आम नागरिकमाथि भएका दमन, बलात्कार र हत्याको प्रतिरोध र प्रतिशोध लिन, निर्दोष जनताको हत्या-बलात्कार गर्ने र माओवादीविरुद्ध मच्चाएको मनोवैज्ञानिक आतङ्कको विरोधमा सुक्मा कारवाही गरिएको बताएका छन् ।
”यो घटना भेली सुकममा ११ मार्चमा भएकै घटनाको निरन्तरता हो । २०१६ मा ओडिसामा २१ जना कमरेडहरू र क्रान्तिकारी जनसरकारका ९ जना गाउँले जनताको हत्याको बदलाको घटना हो, आदिवासी जनताको हत्या र महिलामाथि प्रहरीहरूले गर्नेगरेको सामूहिक बलात्कारको पनि बदला हो” टेपमा भनिएको छ ।
प्रवक्ता विकल्पले सरकारी सेना-प्रहरीलाई प्रतिक्रियावादी सत्ताको सेवा गर्न छोडेर जनताको सेवा गर्न जनमुक्ति सेनामा सामेल हुन समेत अाग्रह गरेका छन् । ”हामी हिंसा प्रेमी होइनौं, तल्लो स्तरको कर्मचारी तथा प्रहरीको हत्या गर्ने हाम्रो योजना होइन तर उनीहरू प्रतिक्रियावादी सत्तासंयन्त्रको सुरक्षामा लागेका हुनाले निसानामा पर्नु स्वाभाविक छ । किन बेकारमा जीवन गुमाउँ छौं । तल्लो तहका कर्मचारी तथा प्रहरीहरूलाई प्रतिक्रियावादीको सेवा गर्न छाडेर जनताको सेवामा लाग्न जनमुक्ति सेनामा सहभागी हुन हामी आह्वान गर्छौं” अडियो वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा प्रतिक्रियावादीहरूको माओवादीविरुद्ध भ्रम फैलाउन घटनामा परेका प्रहरीहरूको शरीर टुक्राटुक्रा पारिएको तथा गोप्य अंग काटेर फ्यालिएको भनेर हल्ला चलाइएको भन्दै उक्त प्रचार झुट भएको बताइएको छ ।
सुक्मा घटनाबारे छलफल गर्न दिल्लीमा विशेष बैठक बोलाइएको बेला प्रहरीलाई जनसेनामा भर्ति हुन गरिएको अाह्वानले केन्द्र सरकारको टाउको दुखाइको विषय भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]