‘माओवादी केन्द्र कम्युनिस्ट पार्टी रहेन ‘

२०७४ बैशाख २० गते, बुधबार

काठमाडौँ, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको र इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । उनले भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको सोधीखोजी गर्नुपर्छ, माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा अब उ कम्युनिस्ट पार्टी रहेन ।’ उनले आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको बताए । यस बिषयमा पोलिट्ब्युरो सदस्य अटलले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ – “२०५२ सालमा शुरु गरिएको जनयुद्धको वास्तविक सपना के थियो ? तत्कालीन पार्टीले कुन संकल्प र प्रतिबद्धता गरेको थियो ? ठोस लक्ष्य एवं उद्देश्य के थियो ? आज के त्यो पूरा भएको छ त ? राज्यप्रणालीमा कुनै गुणात्मक परिवर्तन भएको छ त ? जनयुद्धको क्रममा कत्रो ठूलो जनधनको सर्वनाश भयो ? नेपाली आमाका महान् छोराछोरीहरुले आफ्नो अमूल्य जीवनको आहुति दिए । के का लागि ? देश र जनताको मुक्तिका लागि । आज तिनका परिवारको के विचल्ली छ ? कति घाइते अपाङ्ग भएका छन् र आज तिनको के पीडा छ ? अज्ञात आशा देखाएर समायोजनको खेलमा फेल बनाइएकाहरुको आज के अवस्था छ ? मुक्तिको तृष्णाले न्याय, स्वतन्त्रता र समानता प्राप्तीको उत्कट अभिलाषाले अपूर्व त्याग, लगन, निष्ठा र आदर्शले प्रज्वलित भई आफ्नो ज्यानको समेत कुनै प्रवाह नगरी जनयुद्धमा होमिएका विकट र विहड गाउँका इमान्दार कर्तव्यनिष्ट, निश्छल, निस्कपट, जनता र कार्यकर्ताले आज के भोग्न परिरहेको छ ? खै आज उनीहरुको मान, प्रतिष्ठा र इज्जत ? खै आज उनीहरुको महत्व, हैसियत र मुल्यांङ्कन ? पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी, महत्वकांक्षी(तथाकथित प्रभावशाली) नेताहरुको लूट र घूसबाट आर्जित अकूत सम्पति कहाँ कहाँ छ ? क–कसको नाममा छ ? यसको सोधी खोजी गर्ने कि नगर्ने ? अथवा कसले गर्ने ? कसरी गर्ने ? कहिले गर्ने ? उपर्युक्त सवालहरुको जवाफ कसले दिने ? यी जम्मै सवालहरुको प्रमुख जिम्मेवार को ? के यस्तै हुन्छ, कम्युनिष्ट क्रान्तिकारी पार्टीमा ? जाल, झेल र तिकडम गरेर हरतरहले पार्टी र हाल सरकारको समेत शक्तिशाली निकायमा पुगेका तथा कथित क्षमतावान (पहुचवाला)हरुले जे गर्दछन, जे भन्दछन, त्यही नै नयाँ हुन्छ, त्यो नै आवश्यकता र समयको माग पो हो रे ! माओवादी केन्द्रको आन्तरिक पार्टी जीवन (संगठनात्मक विधि, पद्धति र नियम) कसरी चलिरहेको छ ? त्यस पार्टीमा उपल्लो तहमा पुग्न वा राज्यसत्ता अन्तर्गतका विभिन्न लाभका सम्मानित पदहरुमा पुग्नका लागि त्यसको छनौट गर्ने, अर्को कुनै वैज्ञानिक मापदण्ड वा आधार चाँहिदैन, नेता–कार्यकर्ताको कुनै त्याग–लगन–निष्ठा र इमान्दारिता चाहिदैन ? क.माओले जुन तीनवटा कुरा नगर भनेका थिए, त्यही नै लागू गर्दै उनीहरु आनन्दको प्रलाप गर्दछन् । त्यो नै तिनीहरुको समग्र कार्यप्रणाली बनेको छ, जुन यस प्रकारका छन् — १) क) नेकपा (माओवादी केन्द्र) को मुख्य नेतृत्व र त्यसका वरिपरि रहेका केही राजनैतिक ठालूहरु (मुखियाका छोरा नातिहरु) का परिवार भित्रका सदस्यहरु पार्टीको उच्च ओहोदा र लाभको पदमा छनौटको पहिलो प्राथमिकतामा पर्नैपर्ने हुन्छ । ख) दोश्रो प्राथमिकता क्रममा मामा–माइजु, फूपु–फुवाजु सासु–ससुरा र काका–काकीपट्टिका सन्तानहरु पर्नुपर्ने हुन्छ । तिनको प्राकृतिक न्यायको नियम अनुसार उनीहरु नै पर्दछन् । यो सर्त अकाट्य हुनैपर्दछ, यो मुख्य मापदण्ड या मुल्याङ्कंनको मुख्य आधार नै बनेको छ । २) उपर्युक्त मापदण्डपछि दोश्रो मापदण्डको पालो आउँछ । त्यो के भने त्यस पार्टीको मुल नेतृत्व र त्यसको दायाँ बायाँ रहेका भरौटे तिनै ठालुहरुको कुनै न कुनै एउटा गूटभित्र तपाई परेको हुनुपर्दछ । र, तिनको चाकडी र चाप्लुसी गर्ने, मन परेपनि मन नपरे पनि तिनको जय जय गान गर्दै भजन गाउने, जेवमा रकम छ भने सुविधायुक्त स्तरिय रिसोर्टमा लिएर जिउनार गराउने वा उनका भव्य निवासमा पुगेर कोसेलीपात टक्¥याउने (दाम सहित भए झन् राम्रो), मुल्याङ्कंनको दोश्रो आधार या मापदण्ड यही हो । त्यहाँको सँस्कार, चरित्र र विधि यही नै हो । ३)उपर्युक्त कार्य तपाई गर्न चाहनु हुन्न भने अन्तिम वा तेश्रो कार्यपद्धति भनेको पाखुरा सुर्केर गर्जने, हुल हुज्जत गर्ने, तोडफोड गर्ने, सशक्त गुट तयार गरेर धम्काउने यसो गरे तपाईको पनि पार्टीभित्र उपल्लो तहमा बढुवा हुन सक्छ अथवा सम्मानित लाभको पदमा हो भने पनि त्यो संभव हुन जान्छ । उपर्युक्त कुराहरु नै नेकपा (माओवादी केन्द्र) का मुल्याङ्कन विधि र पद्धति हुन् । संगठनात्मक विधि वा समग्र कार्यप्रणाली हुन् । यो त्यस पार्टीको आजको विशिष्ट वा मौलिक सँस्कृति हो । विडम्बना ! विडम्बना !! विडम्बना !!! धोका !धोका !! धोका !!! धिक्कार छ, नेकपा (माओवादी केन्द्र) को खोक्रो बकबास ! झूट प्रलाप ! आम जनसमुदाय, हाल नेकपा (माके) कुनै पनि तरहले कम्युनिष्ट रहन गएको छैन । अब यो सँग कुनै पनि कम्युनिष्ट आदर्श, सिद्धान्त, निष्ठा, चरित्र र क्रियाकलाप बाँकी रहेको छैन । त्यो किसान मजदुरको मुक्ति, स्वतन्त्रता र समानताको नेतृत्व गर्न सक्ने पार्टी अब रहेको छैन । त्यो त भ्रष्ट नव धनाढ्यहरुको मात्रै हाली मुहाली चल्ने लोभी, पापी र पाखण्डीहरुको गिरोहमा पतित बन्दै गइरहेको छ । अन्य पुराना संसदवादी दलहरु भन्दा पनि अगाडि बढेर अझ बढी भ्रष्ट, अझ बढी स्वार्थी र अझ बढी अवसरवादी बन्नतिर फन्को मारिरहेको छ । यथार्थमा माओवादी केन्द्र एउटा प्रा.लि. हो । सत्ता, शक्ति र सम्पत्तिका लागि जे पनि गर्नु त्यसको मुख्य चरित्र बन्दै गइरहेको छ । उसको पूर्व वर्ग, विचार, राजनीति, सिद्धान्त, आदर्श, मुल्य, संस्कार, चरित्र सबै बदलिइसकेको छ । त्यसकारण उनीहरुको एउटा हिस्सा निष्ठुर र क्रुर बन्न थालेको छ । त्यस पार्टीको उच्च ओहोदामा रहेका तिनको आशिर्वाद र संरक्षण प्राप्त मातहतका आसेपासेहरुको समेत वर्ग परिवर्तन भएर आज उच्च, संभ्रान्त वर्गमा रुपान्तरित भइरहेका छन । गाउँ, शहर जहाँ पनि तपाईहरु नियाल्नुहोस्, आफै देख्नसक्नुहुनेछ । तिनको हाईफाई र चर्तिकला आज के छ ? नेकपा (माओवादी केन्द्र)का कुटिलहरुले अझैसम्म पनि क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउनका लागि सर्वहारा वर्गको मुक्ति र समाजवादको फलाको हाल्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित जो आफै व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति (अझ जातिवादी पनि), भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ । तिनैले लागू गर्ने समाजवाद कस्तो हुन्छ ? कस्तो हुन्छ जनसमुदाय ! तिनले सर्वहारालाई दिने मुक्ति ? जो आफै टुप्पीदेखि पैतलासम्म दुर्गन्धित छन् । तिनको किचन क्याविनेटबाट संचालन गरिने न्यायपूर्ण र सु–शासनयुक्त समतामुलक समाज कस्तो होला ? कति मजाकलाग्दो कुरा छ यो । यिनीहरुको त पुराना बुर्जुवाहरुको जति पनि इमान्दारिता, इज्जत र संस्कार छैन । त्यसकारण माओवादी केन्द्र कम्युनिष्ट पार्टी हुदै होइन, बरु यो भाइ एमाले हो । आदरणीय जनसमूहदाय ! जनयुद्धकालभरी हाम्रो पार्टीको सर्वोच्च नेतृत्व प्रचण्ड आजको दुनियाको सर्वोच्च नेतृत्व हो जससँग अदभूत सर्वहारा वर्गीय क्षमता र शक्ति छ भन्ने पाठ घोकाइयो र बडो मुक्त कण्ठले सगौरव घोकियो । मुक्ति र स्वतन्त्रता प्राप्तीका लागि सहर्ष उनको फोटो समेत पुजियो । जनयुद्धको सन्तुलन हुदै प्रत्याक्रमणसम्म आइपुग्दा उनको वरिपरि रहेकाहरुलाई त बुझिसकिएको थियो । तर उनलाई मैले ६४÷६५ बाट बल्ल चिन्न कोसिस गरें र ७०÷७१मा आइपुग्दा पूरै चिनें । यसभन्दा अगाडि जसरी उनलाई माओपछिको मालेमाको सच्चा उत्तराधिकारीका रुपमा बुझियो यो नै राजनैतिक जीवनको भयङ्ककर ठुलो भूल हुन गएछ । आज यही पश्चातापले पोलिरहेको छ । यसको हिस्सा मैले कति लिनुपर्ने हो ? म पूरै इमान्दारिताकासाथ लिन तयार छु । वास्तवमा प्रचण्ड भनेका क्षण क्षणमा रंग बदलिरहने, भनाई र गराईमा कुनै सम्बन्ध नभएका, फरक फरक व्यक्तिसँग नितान्त फरक कुरा गर्ने अति धूर्त, कुटिल, चरम अवसरवादी र महत्वाकांक्षी रहेछन् । मुखले जस्तालाई पनि, जे पनि, जति पनि दिने उनको मुख्य चारित्रिक गुण रहेछ । यो यथार्थ बुभ्mन नसकेर धैर्य गरी उनको स्तूती गर्ने उनको आदेशमा बलिदान गर्ने इच्छा गर्नु नै व्यर्थ हुन गयो । यसप्रति म दुःखी छु । र, आम जनसमुदाय, पार्टी भित्रका इमान्दार, निष्ठावान र आदर्शवान कार्यकर्ता, शहीदपरिवार, वेपत्ता परिवार, घाइते अपाङ्ग सवै सामु क्षमा याचना गर्दै आजको दिनदेखि नेकपा (माओवादी केन्द्र)सँग राजनैतिक र सांगठनिक रुपले मेरो कुनै सम्बन्ध बाँकी नरहेको कुरा यस विज्ञप्तीमार्फत सबैमा जानकारी गराउन चाहन्छु । सो पार्टीको कथित केन्द्रीय समितिको पोलिटव्यूरो सदस्य लगायतका बन्धनबाट मुक्त भएको घोषणा गर्दै अव उप्रान्त त्यस प्रा.लि.सँग मेरो कुनै अधिकार र कर्तव्य पनि बाँकी नरहेको सार्वजनिक गर्न चाहन्छु । यसै सन्दर्भमा म के कुरा पनि स्पष्ट गर्न चाहन्छु भने म आफूले बुझेको मालेमाको सिद्धान्तलाई आफ्नो बाँकी जीवनको पथप्रदर्शक र आफ्नो कार्यको निर्देशक मान्दै कम्युनिष्ट नैतिकता र कर्तव्यबाट किञ्चित विचलित नभएर कम्युनिष्ट सेवा भावले निष्ठापूर्वक समाजको सेवामा सक्दो योगदान गर्ने संकल्प र अठोट कायमै रहेको कुरा स्मरण गराउन चाहन्छु । न्यायप्रेमी जनसमुदायहरु ! २०४६ सालको जनआन्दोलन (जतिवेला भर्खर जुँगाका रेखी बस्न थालेका थिए) देखि २०५२ मा थालनी भएको जनयुद्धसँगै पार्टीको जिम्मेवार निकायमा रहेर निरन्तर रुपले क्रान्तिको विजयको अटल आस्था र विश्वासकासाथ वर्ग दुश्मनका विरुद्ध निर्मम युद्धमा सामेल हुँदै आजसम्म आइपुग्दा (जहाँ आधा कपाल र जुँगादारी फुल्न थालेका छन्) लाग्दैछ छ कि आफ्नो सम्पूर्ण यौवन र उर्जा पार्टीभित्रका केहीजना मुखियाका छोरानातीहरु र तिनैका आसेपासे भरौटेहरुको मात्र हालीमुहाली प्राप्तीका लागि अनर्थमा खेर फालिएको रहेछ । आखिर जनताको जीवनस्तरमा आज के परिवर्तन आयो त ? कुनै पनि राजनीतिक नाम र रुपले रंग दलिएको दलबाट हुने पक्षपात, विभेद अन्याय, अत्याचार, उत्पीडन र तिरस्कार मेरा लागि स्वीकार्य छैन । त्यसका लािग शसक्त संघषर््ा गर्नु र विद्रोह गर्नु म मेरो आधारभूत कार्य ठान्दछु । किनकि मालेमाको आधारभूत मान्यता नै यही हो । यही मूलभूत मान्यताबाट प्रेरित भएर एक कम्युनिष्टले गर्ने सामान्य कार्य नै मैले गरेको छु ।
पत्रकार मित्रहरु !
महान् जनयुद्धका क्रममा हामीले हरेक नाम र रुपबाट हुने दमन, उत्पीडन र विभेदका विरुद्ध जीवन मरणको लडाई लड्यौ–ंमुक्तिका लागि, स्वतन्त्रता र समानताका लागि र आत्म गौरव र स्वाभिमानका लागि । तर आज खै नेकपा (माओवादी केन्द्र) भित्र हाम्रो स्वतन्त्रता, समानता, आत्मगौरव र स्वाभिमान ? निष्ठावान, आदर्शवान, इमान्दार र निष्कपट नेता कार्यकर्ताको, खै मान प्रतिष्ठा, इज्जत र मुल्याकंन ? गंभीर बन्नुपर्ने विषय यहीनेर छ कि हामीले वर्ग संघर्षमा बलिदानी भावकासाथ लड्दै जाँदा एक हदसम्म जित्यौ,ं तर आफ्नै पार्टी भित्रका पदलोलुप, अवसरवादी, व्यक्तिवादी, स्वार्थी र पाखण्डी जुकाहरुका विरुद्धको आन्तरिक संघर्षमा समयमै ध्यान दिएनौं र ती शक्तिमा पुगे । धेरै पछि तिनीहरु अधिक बलिया भैसकेका थिए । मुख्य नेतृत्व र तिनका बीचमा साँठगाँठ बनिसकेको थियो र तिनका विरुद्धको संघर्षमा हामी इमान्दार क्रान्तिकारीहरुको एक पछि अर्को हार हँुदै गयो । हामीलाई सुनियोजित ढंगले हराइयो । हाम्रो मान, प्रतिष्ठा, इज्जत र इमान्दारिदामाथि तिनैले जिते । र, त आज तिनीहरुको हातमा कति शक्ति र अथाह रुपले सम्पत्ति छ ? हेर्दा हेर्दै तिनको वर्ग उत्थान कसरी भयो ? हामी भने रोग, भोक र अभावले छटपटाउदै बडो कठीन जीवन जीउन विवश छौं । तनावमा बाँच्न विवस छौ ं। बडो उदास र उराठलाग्दो परिवेशमा बाँच्न विवश छौं । त्यसकारण माओवादी केन्द्र नामको प्रा.लि.भित्र रहनुभएका प्रत्येक इमान्दार कार्यकर्ता र जनता सबैले गंभीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ । ठण्डा दिमागले समिक्षा गर्नैपर्ने भइसकेको छ । हिजो क्रान्तिको चरणमा पार्टीभित्र त्याग र बलिदानी भावकासाथ लामबद्ध नेता र कार्यकर्तालाई पार्टी नेतृत्वले मर्न सिकायो । तर आज शान्तिकालमा स्वाभिमानपूर्वक बाँच्न सिकाएन । जनयुद्धलाई विसर्जनको दिशातिर मोडेर पार्टीको मुल नेतृत्वले आफू वरिपरिको एउटा चरम अवसरवादी तप्कालाई आफूसँगै सिहंदरबारभित्र लिएर गयो । जुन तप्का आज साधनश्रोतले सम्पन्न छ र त्यसको रक्षाको लागि देशव्यापी आफ्नो संजाल खडा गर्दैछ । बाँकी बहुसंख्यक पंक्तिलाई चौबाटोमा लावारिस छोडिदिएको छ । तिनका समस्या हिजो जे थिए ती आज झन् भयानक भएका छन् । के यो जनताका विरुद्धको गद्दारी र गंभीर विश्वासघात होइन ? कम्युनिष्ट आदर्श, क्रान्तिप्रतिको आस्था, निमुखा जनताप्रतिको मुक्ति र सेवाभावलाई पूरै मर्न नदिइ माओवादी केन्द्रभित्र रहेका इमान्दार साथीहरु अझै पनि दलाई लामाका भक्तजनहरु जस्तै नेतृत्वको भक्तिभाव नगरौं । लामो समयसम्म मैले यसै गरेर गल्ती गरें । माओवादी केन्द्र भनेको अब चोरलाई चौतारी र साधुलाई शुली बाहेक अर्थोक होइन । सैद्धान्तिक रुपले च्यूत, सास्कृतिक रुपले पतित र आर्थिक रुपले भ्रष्ट भएर यो यति चाँडै पतन होला भनी जनताले आशा गरेका थिएनन् । जनयुद्धले कैयौं इमान्दार नेता र कार्यकर्ता पैदा त ग¥यो, तर आज आएर तिनीहरुले नेतृत्वबाट कुनै संरक्षण, सद्भाव र अवसर प्राप्त गर्ने कुरा समाप्त प्राय भइसकेको छ । अब नितीहरुका लागि त्यहाँ ठाउ सकिदै गएको छ । त्यसकारण अन्य कुनै संसदवादी दलहरुभन्दा भिन्न आचरण र विशेषता बाँकी छैन । देश र जनतालाई ठग्नु र लुट्नु, वैदेशिक शक्तिकेन्द्रको चाकडी गरेर कुर्सीमा पुग्नु र कुर्सी बचाउनु मात्र तिनीहरुको मुख्य कार्यभार बन्न गएको छ । जनयुद्धको मध्यकालबाट शुरु भएको पार्टी भित्रको गुटवन्दी, आर्थिक अपारदर्शिता, पद र पैसाका लागि गर्ने चाकडी र वार्गेनिङ्ग मूल नेतृत्वबाटै संरक्षण गरिएको प्रवृत्ति रहेछ । त्यसको तीव्र विकासको फलस्वरुप भृकुटीमण्डपमा २ वटा सम्पत्ति छानविन आयोग बने । तिनले छानबिन गरेर कार्वाहीको सिफारिस र कैयौं सुझाव सहित प्र्रतिवेदन पेश गरे । कार्यान्वयन गर्नुको साटो त्यसलाई रद्दीको टोकरीमा फँयाकेर दोषीलाई नै पुरस्कृत गर्ने काम पो भयो । आज कुनै पनि विकृति, विसंगति, भद्रगोल, दण्डहिनता र आर्थिक अराजकताको जात्रा हेर्न मन लागे माओवादी केन्द्रलाई हेरे पुग्छ । तिनीहरुको अभिमान, स्वेच्छाचारिता र ज्यादतीप्रति जनघृणा बढदै गएको छ । जनयुद्धको पछिल्लो कालदेखि शान्ति प्रक्रिया हुँदै हालसम्म पटक पटक विभिन्न माध्यमबाट गरेको लूट, घूस, भ्रष्टाचारजन्य कालो धन कमाउने धन्दाको ध्याउन्नले तिनीहरु कहाँ पुग्दैछन् ? दलाल संसदीय पूँजीवादमा । जनयुद्धबाट करीब मृत्युघाट पु¥याइसकिएको संसदीय व्यवस्थालाई सुदृढ गर्न कथित स्थानीय तहको निर्वाचनको नौटंकी गरिरहेका छन् । गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीको आवरणभित्र उनीहरुले आफ्नो दक्षिणपंथी अवसरवादी अनुहार छोपिरहेका छन् । त्यसैले मैले विद्रोह गरेको छु र मेरो विद्रोहको मुख्य आधार यही नै हो । क्रान्तिलाई पूर्णतासम्म पु¥याउनको लागि क्रान्तिकारी धारको तय गर्दै आवश्यक परे बाँकी जीवनका व्यक्तिगत रहलपहललाई फेरि त्याग गर्न समेत तत्पर रहने संकल्प दोहो¥याउदै हालसम्मकोे अध्ययन र अनुसन्धानबाट नेपाल कम्युनिष्ट पार्टी नै क्रान्तिकारी धारको रुपमा क्रियाशील देखिएको छ । बाँकी अन्तरक्रिया र थप अध्ययन गरी उचित निष्कर्षमा पुगेर आफ्नो काँधमा आएको जिम्मेवारी वहन गर्ने वाचा गर्दछु ।”

प्रतिक्रियाहरु

[anycomment]