माल्कोट हत्याकाण्डविरुद्धको जनप्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट हत्याकाण्डविरुद्ध गरेको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको छ । सो क्रममा काठमाडौंवाट प्रहरीले दर्जनौ प्रदर्शकारीलाई गिरफ्तार गरेको छ । देशभर विरोध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार आज राजधानीमा गरिएको प्रदर्शनमा नेकपाका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा अखिल नेपाल महिला संघकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’, सुदर्शन मंगोल, जय सिंह, एलके रायमाझी, लोकेन्द्र बिस्ट, देवी, विजयलगायत ११ जना परेको नेकपा उपत्यका ब्यूरोले जनाएको छ । उनीहरुलाई विरोध र्यालीसहित शान्तिबाटिकातर्फ आउनेक्रममा असनबाट सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न ब्यूरोले माग गरेको छ । रिहा नगरे कडा संघर्षको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । अहिले उनीहरुलाई दरबारमार्ग र जनसेवा प्रहरीमा राखिएको छ ।
त्यस्तै उता पोखरामा माल्कोट हत्याकाण्डको विरोधमा स्थानीय र नेकपा कार्यकर्ता विरोध सभा गरिरहेका बेला पृथ्वीचोकबाट भाेजराज त्रिपाठीसहित १५ जनालाई गिरफ्तार गरेको समाचार छ । देशभर भएको प्रदर्शनमा दर्जनाै प्रदर्शनकारीमाथि दमन र धरपकड भएको नेकपाले जनाएको छ ।