नेकपाको बैठकमा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि प्रहरीको दमन र गिरफ्तारी जारी छ । यसैक्रममा प्रहरीले नेकपा प्युठानको जिल्ला पार्टीको बैठकस्थलवाट तीन जना केन्द्रीय सदस्यसहित डेढ दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले बुधबार बैठकबाटै नेकपाका राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, केन्द्रीय सदस्यहरु बन्ध चन्द, असल क्षेत्रिसहति एक दर्जन जिल्ला सदस्यहरुलाई गिरफ्तार गरेको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै फेरि पक्राउ गरिएको छ । गत वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले बुधबार धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने निर्देशन आएको बताए । “उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भने , “तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पु-याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”