निर्वाचन बहिष्कार गर्नेलाई दमन गर्न पाइदैन : वैद्य

काठमाडौं , २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी ) का अध्यक्ष मोहन वैद्यले निर्वाचन बहिष्कार गर्न पाइने बताउदै नेकपाका नेता तथा कार्यकर्तामाथिको दमन बन्द गर्न आव्हान गरेका छन । अध्यक्ष वैद्यले संसदीय निर्वाचनहरुमा भाग लिनु तथा उपयोग गर्नु जस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको समेत बताएका छन । उनले आज एक प्रेस वक्तव्य जारी गर्दै केही समययता वर्तमान संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार आन्दोलनमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई ठूलो संख्यामा धरपकड गर्ने, यातना दिने, जेल चलान गर्ने र मुद्दा लगाउने जस्ता गैरलोकतान्त्रिक क्रियाकलाप भइरहेका समाचारहरु प्राप्त भइरहेको भन्दै त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन । साथै उनले बहिष्कार आन्दोलनमा संलग्न नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ता कमरेडहरुको अबिलम्ब रिहाई गर्नका लागि सरकारसित जोडदार माग समेत गरेका छन । यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी ) का अध्यक्ष मोहन वैद्यले जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस परका रहेको छ –
“केही समययता वर्तमान संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार आन्दोलनमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई ठूलो संख्यामा धरपकड गर्ने, यातना दिने, जेल चलान गर्ने र मुद्दा लगाउने जस्ता गैरलोकतान्त्रिक क्रियाकलाप भइरहेका समाचारहरु प्राप्त भइरहेका छन् । यसबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय निर्वाचनहरुमा भाग लिनु तथा उपयोग गर्नु जस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो । यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो । तसर्थ, हाम्रो पार्टी बहिष्कार आन्दोलनमा संलग्न नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ता कमरेडहरुको अबिलम्ब रिहाई गर्नका लागि सरकारसित जोडदार माग गर्दछ । ”