टेलिकमको दादागिरि

२०७४ असार ३ गते, शनिबार

काठमाडौँ , ३ असार । नेपाल टेलिकमका कारण सेवाग्राही प्रताडित बन्ने गरेको पाइएको छ । टेलिकमले ग्राहकलाई थाहै नदिई टेलिफोन नम्बर परिवर्तन गरिदिने र प्रयोग गर्दै आएको सुविधा कटौती गरेर प्रताडित गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । टेलिकमले ललितपुरको सातदोबाटो, खुमलटार, बालकुमारीलगायतका क्षेत्रमा सेवा सुधार गर्ने नाममा ग्राहकलाई थाहै नदिई टेलिफोन नम्बर परिवर्तन गरिदिएको छ भने प्रयोग गर्दै आएका अन्य सुविधासमेत बन्द गरिदिएको छ । यसै सिलसिलामा बालकुमारीका हरि श्रेष्ठ भन्छन्, टेलिकमले मलाई थाहा नै नदिई मेरो टेलिफोन नम्बर परिवर्तन गरिदियो । टेलिकमकै इन्टरनेट चलाउँदै आएका उनको विगत छ महिनादेखि इन्टरनेटसमेत बन्द भएको छ । विगत छ महिनादेखि टेलिफोनमा समस्या भएपछि उनी दर्जनौँ पटक टेलिकमको कार्यालय र टेलिकमका हाकिमहरुको ढोका ढकढक्याउन पुगे । तर, उनको समस्या समाधान भएन । उनको टेलिफोन नचलेको छ महिना भयो तर मासिक शुल्क भने तिरिरहेको बताउँछन् ।
यसैक्रममा सात दोबाटोका सुरेन्द्र लिम्बु भन्छन्– मेरो टेलिफोन नं. परिवर्तन भएको म आफैँलाई थाहा छैन । टेलिफोनमा कल आउँछ, आपूmले गर्दा जाँदैन । समयमै पैसा तिरिरहेको छु । समस्या समाधानको लागि १९८ मा डायल गरेँ नम्बर मिलेन मात्र भन्छ । त्यसपछि टेलिकम जाउलाखेल गएँ । एउटाले अर्कोलाई देखाउँछ, अर्काले अर्कालाई । एक दुई दिनमा बनिहाल्छ नि भन्दै पन्छाउँछन् । विगत चार महिनादेखि यस्तो समस्या आएको छ । पहिले कलर आइडी थियो, अहिले त्यो पनि छैन । इन्टरनेट कट्यो, वाक्क भएर प्राइभेट इन्टरनेट जोडेँ । के टेलिकमको सेवा यही हो, उसको ग्रहकमाथि गर्ने व्यहार यही, उसलाई कुनै नियम, कानुन लाग्दैन ? उनले आक्रोशित हुँदै भने टेलिफोनको महसुलचाहिँ समयमै तिर्नुपर्ने प्रयोगचाहिँ गर्न नपाउने ? के टेलिकमको तार जोडेबापत हामीले मासिक शुल्क बुझाउनुपर्ने हो ?
पछिल्लो समय ललितपुरमा यस्तो समस्या धेरै आएको र टेलिकमले सुनुवाई नगरेको भुक्तभोगीहरुको गुनासो छ । सेवा नदिई ग्राहकलाई ठग्ने टेलिकम र त्यसका पदाधिकारी माथि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिले अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्नुपर्ने उक्त क्षेत्रका टेलिकमका ग्राहकहरुको माग रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]