‘दलालहरूका विरुद्ध लड्ने संस्कृति नै क्रान्तिकारी संस्कृति हो’

काठमाडौँ , ३ असार । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले “दलालहरूका विरुद्ध लड्ने संस्कृति नै क्रान्तिकारी संस्कृति हो” भनेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा आयोजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै बास्तोला उक्त कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा ईश्वरचन्द्र ज्ञवाली, घनश्याम शर्मा पौडेल, रोशन जनकपुरी र रामविनय श्रेष्ठ प्रस्तुत विषयमाथि आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा कविहरू पूर्णविराम, आरोह नेपाली र खोमा तरामुले सिर्जनावाचन गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य कमरेड आजाद, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण सिंह, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका महासचिव धीरेन्द्रा उपाध्यायलगायत उपस्थिति रहेको थियो । पद्मकन्या क्याम्पसको डेनिस हल, बागबजारमा सम्पन्न दर्शकहरूले खचाखच भरिएको उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष टेक बलम्पाकी र सञ्चालन महासचिव खेम थपलियाले गरेका थिए ।