नेकपाद्वारा उम्मेदवारी नदिएको ठोकुवा

काठमाडौं, ५ असार । नेकपाले ‘थबाङ्गमा मनोनयन दर्ता’ भन्ने समाचारको खण्डन गरेको छ । नेकपा रोल्पाका जिल्ला सेक्रेटरी जागृतीले एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पाको थवाङ्गमा नेकपाको तर्फबाट मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचार आएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले आफ्नो पार्टी चुनाव खारेजी अभियानमा रहेको उल्लेख गर्दै थबाङ्गमा उम्मेदवारी दर्ता गरेका व्यक्ति दलाल संसदीय व्यवस्थाको भ्रममा परेका व्यक्ति भएको ठोकुवा गरेका छन । विज्ञप्तिमा संसदीय व्यवस्थाको भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा लाग्न थबाङलगायत आम जनसमुदायलाई अपिल पनि गरिएको छ । सेक्रटरी जागृतीद्वारा विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ -” हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्व जवरजस्ती थोपरिएको चुनावी अभियानका विरुद्व विभिन्न संघर्ष मार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा– प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताका विरुद्ध दमन अभियान संचालन गरिरहेको छ । हाल दोश्रो चरणको चुनावी नाटकको मञ्चन भैरहेको सन्दर्भमा आज रोल्पाको थबाङमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचारहरु आइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीको तर्फबाट उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं । ”