‘प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा प्रयोग भए ‘

काठमाडौं, १५ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा प्रयोग भएको बताएका छन् । युवा लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता सुदर्शनले प्रचण्ड भारतीय साम्राज्यवादीको योजनामा नेपालका क्रान्तिकारी कम्युनिस्टलाई समाप्त पार्ने खेलमा प्रयोग भएको ठोकुवा गरेका हुन् । उनले प्रचण्ड जनयुद्धको विरुद्धमा लेख्ने, बोल्ने र खेल्ने पक्षधरको कित्तामा उभिएर अधिकारका लागि विद्रोह जनताको अधिकारलाई कुल्चने हुलमा मिसिन पुगेको बताए । सो कुराको पुष्टि भारतीय खुफिया एजेन्सी ‘रअ’को योजनामा तयार पारिएको ‘प्रयोगशाला’ पुस्तकले समेत गरिसकेको नेता सुदर्शनले दाबी गरे ।
‘प्रचण्ड स्वयम् प्रयोगशालामा प्रयोग भए । उनी प्रयोग गर्नेहरुमध्ये एक हुन्’ नेता सुदर्शनले भने ‘अहिले उनलाई प्रयोगकर्ताले तिमीले हामीले भनेका मानेर चुप बस्नुपर्छ ।’ जनयुद्धकालमा भन्दा अहिले प्रचण्डलाई बाँच्न कठिन भएको भन्दै तत्कालिन जनयुद्ध भारतीय शासकद्वारा संचालित थियो भन्ने षडयन्त्रप्रति आत्मसमर्पण गरेर देश र जनतामाथि गम्भीर घात गरेको उनको भनाई छ । साम्राज्यवादीले भनेको नमानेको घडीबाट प्रचण्ड उनकै मालिकबाट खतरा हुने उनको तर्क छ । ‘हामी मरेर गएकोभए यसै भन्न सकिन्नथ्यो । तर जनयुद्धका हामीहरु जिउँदै छौं । तैपनि जनयुद्ध भारतबाट संचालित थियो भन्नु देश र जनतासँग गरेको नांगो झुठ कुरा हो’ उनले भने ‘प्रचण्डले यतिसम्मन गरे कि जनयुद्ध र आफ्नै विरुद्ध लेखेको पुस्तक ‘प्रयोगशाला’ विमोचन गर्न आफैंले गरे । यस्तो विचित्र कही हुन्छ ?’ प्रचण्डले अलपत्र छोडेका क्रान्तिलाई पूरा गर्न अाफूहरुले क्रान्तिलाई अगाडि बढाएको बताए । अर्को प्रसंगमा अहिले देशमा जनयुद्धको विरोधमा लेख रचनालाई प्रकाशन गृहले प्राथमिकतामा राखेर छपाउने गरेको भन्दै यसलाई रोकेर क्रान्तिको रक्षा र उद्देश्य पूरा गर्न थुप्रै गणेशमान सिंहहरु अघि बढ्नुपर्ने बताए । पुस्तक पसिना, आँसु र रगतको संगालो भएको उनको विश्लेषण छ ।
त्यस्तै सरकारले गरेको स्थानीय चुनावलाई खारेज गरेर नेपाल कम्युनिस्ट पार्टीले विकल्पमा वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेर देश र जनताको अधिकारको रक्षार्थ क्रान्तिलाई निरन्तरता दिइरहेको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहं , नेकपा एमालेका नेता प्रकाश ज्वाला, माओवादी केन्द्रका नेता रत्न ओली, नेकपा (क्रान्तिकारी माओवादी) का नेता मनोहर लामिछाने, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष टेकबहादुर बलाम्पाकी, महासंघकै महासचिव खेम थपलिया, भीम भारतीलगायतले पुस्तक र लेखकको लेखन क्षमताले प्रशंसा गरे । त्यस्तै थुप्रै पुस्तक बाहिर ल्याउनुपर्नेमा जोड दिए । साथै उनीहरुले नेपाली साहित्यमा क्रान्तिकारी विचारको पक्षमा लेख, रचना कम हुँदै गएको औल्याउँदै युवा वर्ग क्रान्तिप्रति आकर्षित हुनुले क्रान्तिको भविष्य सुन्दर रहेको विश्वास व्यक्ति गरे । एकीकृति जनक्रान्तिको भावनालाई पुस्तकमा समेटिएको टिप्पणी गरे ।
अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेक बलम्पाकीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासंघका महासचिव खेम थपलियाले गरेका थिए ।