‘राज्यसत्ता परिवर्तन विना जनमुखि शिक्षा असम्भव ‘

काठमाडौं, १८ असार । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आमूल परिवर्तनको बाटोबाट नगइ कन शिक्षा जनमुखी, व्यावसायिक र बहुप्राविधिक हुन नसक्ने ठोकुवा गरेका छन । अखिल (क्रान्तिकारी) ले ‘प्राविधिक तथा व्यावसायिक शिक्षाः संभावना र चुनौती’ विषयक बृहद अन्तरक्रिया कार्यक्रममा उनले सो ठोकुवा गरेका हुन् । कार्यक्रममा उनले दलाल संसदीय राज्य व्यवस्था रहेसम्म शिक्षामा सामान्य सुधारका काम हुन सकेपनि परिवर्तन र विकास सम्भव नभएको दाबी गरे ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोख्रेलले देशमा उत्पादित शिक्षित जनशक्ति दिनहु विदेश पलायन हुनु राम्रो नभएको भन्दै सकारात्मक कार्यमा युवा विद्यार्थीहरुले आन्दोलनको नेतृत्व गर्न आवश्यक भएको बताइन ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटिका सदस्य–सचिव पुष्परमण वाग्लेले आफ्नो कार्यकालमा केही सुधारका काम गर्ने बताए ।
वरिष्ठ शिक्षाविद मनप्रसाद वाग्लेले नेपालमा प्राविधिक शिक्षाको लागि सरकारले पर्याप्त बजेट नदिएको गुनासो गरे । यस्तै नेकपाका केन्द्रीय सदस्य समेत रहेका शिक्षाविद गुणराज लोहनीले अहिले नेपालका ७५ लाख जनशक्ति विदेशमा रहेको उल्लेख गर्दै अहिले शिक्षण संस्थाहरुले वेरोजगार जनशक्ति मात्रै उत्पादन गरेको भन्दै यो प्रणालीको विरुद्धमा नै यूवाविद्यार्थीहरुले सशक्त आन्दोलन गर्नुपर्ने बताए ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले सरोकारवाला र विद्यार्थी संगठनबीच बेलाबेलामा विभिन्न खालका सम्झौंताहरु हुने गरेको तर कार्यान्वयन नभएको बताए ।
कार्यक्रममा शिक्षाविद डा.प्राध्यापक सरोज देवकोटा डा.सुरेजराज आचार्य, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अनिल शर्मा, नेविसंंघका सन्जीव न्यौपाने, अनेरा स्ववियूका रश्मि आचार्य विभिन्न विषयविज्ञहरुले प्राविधिक तथा व्यावसायिक शिक्षाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
भक्तपुरको सानो ठिमीमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुनिता बमले गरेकी थिइन् भने सञ्चालन सिटिइभिटि जिल्ला अध्यक्ष टीकाराम सुनारले गरेका थिए ।