‘एमालेका विद्यार्थीहरुले शैक्षिक अान्दोलनलाई रोजिरोटी बनाए’

काठमाडौँ, ७ साउन । अखिल क्रान्तिकारी सिटिईभिटी संयोजक सुनिता बमले शैक्षिक दलालहरुलाई सांकेतिक कारवाहीविरुद्ध एमालेको विद्यार्थी संगठनले वक्तव्यबाजी गरेको भन्दै आपत्ति जनाएकि छन । अखिल क्रान्तिकारीले साउन ५ गते सिटिईभिटी परीक्षा उपनियन्त्रक नवराज कोइरालालाई कार्यकक्षमै कालोमोसो दलेको थियो । प्रश्नपत्र बेचेको, छात्रवृत्तिमा नाम निकालिने दिने भन्दै विद्यार्थीबाट रकम असुल गरेकोलगायत ६ अरोप लगाएर सांकेतिक कारवाही भन्दै कालोमोसो दलेको थियो । त्यही विषयमा एमाले निकट अनेरास्ववियुले विज्ञप्ति निकालेर विरोध गरेको थियो ।
यस बिषयमा अखिल क्रान्तिकारीकी सिटिईभिटी संयोजक सुनिता बमले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउन ५ गते भ्रष्ट परीक्षा उपनियन्त्रक नवराज कोईरालामाथि सांकेतिक कारवाही स्वारुप कालोमोसो दलेको कुरा स्पष्ट भइसकेको छ । यस घटनालाई लिएर आफुलाई शैक्षिक आन्दोलनको संवाहक ठान्ने एमाले निकट अखिल तथा केही अराजक व्यक्तिले उक्त कारवाहीविरुद्ध गरेको वक्तव्यबाजीप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएएको छ ।”
दिउँसो कलेज तथा सडकमा नारा, राति शैक्षिक दलालहरुसँग भट्टीमा जाने प्रवृतिले शैक्षिक आन्दोलनको बद्नाम भएको भन्दै संयोजक बमले शैक्षिक आन्दोलनलाई रोजिरोटीको आन्दोलन बनाउनेप्रति गम्भीर हुन आवश्यक भएको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
संयोजक बमले क्रान्तिकारी आन्दोलनविरुद्ध गरिएको यस्तो हर्कत गरिनु लज्जाजनक भएको बताउँदै अनेरास्ववियुको नामबाट जारी गरिएको बक्तव्यबाजी संगठनले खारेजको घोषण पनि गरेकी छन् ।