जग्गा खरिद प्रकरणमा अनियमितता नभएको ठोकुवा

२०७४ श्रावण २० गते, शुक्रबार

काठमाडौ, २० साउन । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको दावी गरेका छन । कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारमा सत्यता नरहेको भन्दै आपत्ति समेत जनाए । पेट्रोलियम पदार्थको भण्डारणको लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो घोटाला भएको संसदीय समितिहरुले समेत आशंका गरिरहेका छन । तर, आयल निगमका कार्यकारी निर्देशक खड्काले भने विहिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी जग्गा खरिद प्रक्रियामा घोटाला भयो भनेर अडकालबाजी नगर्न चेतावनी दिए । उनले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको ठोकुवा गरे । उनले सरकारले दिएको नीति र निर्देशन, संसदीय समितिहरुले दिएको निर्देशन र निगम संचालन समितिको निर्णय अनुसार जग्गा खरिद गरिएकाले यसमा अनियमितता हुने प्रश्नै नआउने बताए ।
कार्यकारी निर्देशक खड्काले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालि सकेकाले यसमा मिडियाले अडबाजी गरिरहन नपर्ने पनि उल्लेख गरे । खरिद प्रक्रियालाई पारदर्शी बनाउन टेन्डर आह्वान गरिएको पनि उनले बताए ।
कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रक्रिया आफूहरुको एकल निर्णयमा नगरिएकाले यसमा आशंका गरिरहन पर्ने अवस्था नरहेको पनि बताए । उनले पेट्रोलियम पदार्थको संकट हुन नदिन निगमले सरकारकै निर्देशनमा भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद गरेको पनि स्पष्ट पारे ।
नेपाल आयल निगमले ३ गुणा बढि मूल्यमा जग्गा खरिद गरेर ठूलो आर्थिक घोटाला गरेको आशंका गर्दै संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रिया अघि बढाएका छन । यता, अख्तियार दूरुपयोग अनुन्धान आयोगले पनि निगमको जग्गा खरिदबारे सम्पूर्ण कागजात झिकाएर अनुसन्धानको काम अघि बढाएको छ । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक खड्काले आफूहरुले जग्गा खरिद प्रक्रियामा अनियमितता नगरेको र त्यसमा शंका लागे जग्गा खरिदको सम्पूर्ण कागजात हेर्न सकिने व्यवस्था गरिएको पनि बताए ।

प्रतिक्रियाहरु

[anycomment]