नेकपा लमजुङद्वारा जिल्ला सदस्यलाई पार्टीबाट निष्काशन

२०७४ भाद्र १ गते, बिहीबार

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति लमजुङले जिल्ला समिति सदस्य सुजन अधिकारी र भोजराज त्रिपाठी लाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी जिल्ला समिति लमजुङका जिल्ला ईञ्चार्ज निरु थापा र सेक्रेटरी सन्तोष कोइरालाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरुलाई कारवाही गरेको जानकारी दिएका हुन् । सो विज्ञप्तिमा, “क्रान्तिको राप र तापवाट डराएर वैचारिक रुपमा स्खलित भई पार्टीको विधि र पद्धतिभन्दा बाहिर गई पार्टी र क्रान्तिको हितविपरित गतिविधि सञ्चालन गरेको, पार्टीको गोपनियता भङ्ग गरेको र पार्टीको नाममा आर्थिक अनियमिता गरेको पाइएकाले” पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरिएको जनाइएको छ । साथै सोही विज्ञप्तिमार्फत् निष्काशित अधिकारी र त्रिपाठीलाई पार्टीको गोपनीयता भंग नगर्न चेतावनी पनि दिइएको छ ।
सोही विज्ञप्तिमा हालै मात्र नेपालको विभिन्न स्थानमा आएको वाढी र पहिरोले आक्रान्त नेपालीको उद्दार र राहतमा ध्यान दिन सरोकारवाला सवैसँग अनुरोध गरिनुका साथै मृतकप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । साथै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]