‘उत्तरसाम्राज्यवाद मानव समाजकै शत्रु’

२०७४ भाद्र १० गते, शनिबार

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले विश्वमा फैलिएको उत्तरसाम्राज्यवाद मानव समाजकै लागि शत्रु भएको बताएका छन् । पछिल्लो समयमा उत्तर अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादद्वारा गरिएको उपभोग्य सामानमाथिको नियन्त्रणले मानव समाजलाई केही उच्च धनढ्या व्यक्तिको मुठ्ठीमा पर्ने निश्चतप्राय भएकोले त्यसबाट मुक्त गर्न क्रान्तिको विकल्प नरहेको बताए । उत्तरसाम्राज्यवाद पछिल्लो अवस्थाको साम्राज्यवाद भएको बताउँदै यसले मानव जीवनलाई तहसनहस पार्ने खतरा संनिकट रहेको बताए ।
नेकपाको जनवर्गीय संगठन (जवस) ब्यूरोको शुक्रबार राजधानीमा भएको ‘वैचारिक राजनैतिक प्रशिक्षण’मा नेता कञ्चनले सो कुरा बताएका हुन् । आर्थिक विपन्न मुलुकहरुलाई धनी मुलुकले वस्तु व्यापारको माध्यमबाट आर्थिक क्षेत्रमाथि कब्जा जमाउने र राजनैतिक हस्तक्षेपको तहसम्म पुर्याएर राष्ट्रियतामाथि हमला गर्ने योजनालाई क्रान्तिले भत्काइदिनुपर्ने बताए ।
नेपालका संसदवादी दलहरुले चुनावको माध्यमबाट बाह्य र आन्तरिक दलालहरुलाई गाउँटोल स्तरसम्म पुर्याएको भन्दै त्यसलाई रोक्न एकीकृत जनक्रान्तिले मात्र सम्भव रहेको बताए । चुनावको परिणामले माओवादी केन्द्रलाई अन्य पार्टीसँग मिल्नुको विकल्प नदेखाएको कञ्चनको भनाई छ । ‘जनयुद्धका नेतृत्व गरेका प्रचण्ड बाँचुञ्जेलसम्म दलाल संसदीय व्यवस्थामा जागिर खाने मेलोमेसोमा प्रचण्डले लागिसकेका छन् । त्यसकारण क्रान्तिको आवश्यकता तीव्रतामा बढ्दै गएको छ’ नेता कञ्चनले बताए ।
अबको शताब्दी कथित लोकतन्त्रको नभई साम्यवादको भएको बताउँदै सर्वहारा वर्गीय सत्ताले मात्र समृद्ध मानव समाज स्थापना गर्ने प्रस्ट पारे । साथै संसदीय व्यवस्थाले खाली सताब्दीयौं पुरानो लोकतन्त्र (प्रजातन्त्र)को मात्र वकालत गर्ने र समृद्ध मानव समाजको गन्तव्यलाई बिर्सने भएकोले वैज्ञानिक समाजवाद स्थापना गर्ने नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशमा सबै गोलबन्द हुन आग्रह गरे । क्रान्तिले मात्र विश्व मानव समाजलाई सीमित व्यक्तिको पञ्जाबाट बाहिर निकालेर स्वतन्त्रपूर्वक बाँच्न र बस्न पाउने अधिकार सुनिश्चित गर्ने बताए ।
प्रशिक्षणमा स्थानीय चुनावका क्रममा फसेका र पार्टीको योजनाविपरीत गतिविधिमा लागेका पार्टीका झण्डै दर्जन नेता कार्यकर्तालाई कारवाही गरिएको र पार्टीको आगामी कार्यक्रमबारे परिपत्र पढेर सुनाइएको थियो । पार्टीका पोलिट ब्यूरो सदस्यसमेत रहेका फ्याक्सन इन्चार्ज मोहन कार्कीले पार्टीको सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी दिएका थिए । असोज २ मा हुने चुनावलाइ खारेज गर्न निर्णय पार्टीले गरिसकेको बताए । यसअघिकाे दुई चरणकाे चुनाव खारेजीले जनतालाई राहत दिलाएको निस्कर्स बैठकले लिएको जानकारी दिए ।
नेकपाको साउन २५ गते बसेको केन्द्रीय समितिको बैठकले भदौदेखि कार्तिकसम्म जनप्रतिरोध संघर्ष संचालन गर्ने निर्णय गरिएको जानकारी सो अवसरमा दिइएको थियो । प्रशिक्षणमा जवस ब्यूरोका डीसीएम तहसम्मका डेढ सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]