‘भ्रष्टचारीलाई कालोमोसो दलेर लखेट्नुको विकल्प छैन ‘

२०७४ भाद्र २५ गते, आईतवार

काठमाडौं , २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लवले भ्रष्टचारीलाई दुलोबाट निकालेर सडकमा ल्याएर कालोमोसो दलेर लखेट्नुको विकल्प नरहेको बताएका छन । उनले भ्रष्टाचार गर्नभन्दा क्रान्ति गर्न सजिलो भएको बताउदै देशमा भ्रष्टचारीको बिगबिगी बढेको भन्दै पाइलापाइलामा भ्रष्टचारी भेटिने गरिएकोले त्यसविरुद्ध सबैजना मिलेर लड्ने एकीकृत जनक्रान्ति शुरु भएको ठोकुवा गरे । आज राजधानीमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा भएको ‘कम्युनिस्ट पार्टीमा धुव्रिकरण अभियान’का प्रमुख अतिथिको रुपमा धुव्रिकृत भएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै भ्रष्टचारीलाई नंग्याउने कुरा बताएका हुन् ।
डार्फुर काण्डका दोषी नेपाली प्रहरीका तीन भ्रष्टचार आईजीपी (प्रहरी महनिरीक्षक) जेलमा कैद भोगिरहेको प्रसंगमा बोल्दै प्रहरी संगठनलाई भ्रष्टचारीको रुपमा बद्नाम बद्नाम गराउने तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई उन्मुक्ति दिइराख्नु दलाल संसदीय व्यवस्थाको परिचायक भएको बताए । स्वाधीनताको रक्षा र समाजलाई समृद्धमा बदल्ने क्रान्तिकारीलाई दमन र झुठा मुद्दाको अभ्यास समेत नगर्न महासचिव अपिल गरे ।
आफ्नै कमाण्डरलाई भ्रष्टचारमा जेल हाल्ने अदालतको दृष्टि भ्रष्टचारका मुख्य नाइकेप्रति नपुगेको कुरा प्रहरी नै टुलुटुलु हेर्नु परिरहेको अवस्था बन्नु दलाल राजनीतिको पराकाष्ठ भएको बताए । ‘नेपाली प्रहरीका तीन आईजी भ्रष्टचार गरेर जेलमा छन् । तर भ्रष्टचारका फाइल सदर गर्ने गृहमन्त्री कृष्ण सिटौला बंगलामा छन् । यस्तो पनि सभ्य समाजको कानून हुन्छ ? त्यसैले सरकारले मानेको संविधान दलालहरुको संविधान हो’ महासचिव विप्लवले भने ।
दलाल संसदीय व्यवस्था रहिञ्जेलसम्म चुडामणि शर्मा जस्ता पात्रले उन्मुक्ति पाइराख्ने बताए । अर्को प्रसंगमा प्रहरीले समात्ने सुन कहाँ जान्छ नागरिक थाहा दिँदैनन्, किन ? भ्रष्ट नेताहरुको संरक्षणमा त्यो गायब बनाइन्छ । चुनाव खर्च जुटाउन सुन तस्कर भयो भन्ने पनि तिन नेताहरु हुन्छन्, सभ्य समाजको कुरा गर्न लाग्दैन ?’ उनको भनाई थियो ।
अहिलेको संविधानमा इमान्दार र सच्चा देशभक्त प्रहरीको भविष्य नरहेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई साथ दिन आग्रह गरे । ‘क्रान्तिकारीहरु गाउँशहर घुमिरहेका बेला भ्रष्टचारीहरु दुलोमा लुक्ने र सुरक्षा घेरामा बस्ने गरेका छन् । यहाँ हजारौं लोकमानहरु देखिरहेका छौं । तिनीहरु एकदिन क्रान्तिको फन्दामा पर्नेछन्’ उनले भने । बेलैमा क्रान्तिलाई बुझेर गल्ती स्वीकार्दै जनतासामू उभिन पनि उनले आग्रह गरे ।
कार्यक्रमा क्रान्तिकारी माओवादीका सल्लाहकार झपेन्द्रराज वैद्य, नयाँ शक्तिका केन्द्रीय सदस्य बाबुलाल पासवान, माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण विक, गणेश रेग्मी, एमालेका श्रीकृष्ण बस्नेत, जमुक्ति पार्टीका मोहनसिंह सारुलगायत दुई सयभन्दा बढी नेता नेकपामा प्रवेश गरेका छन् ।
नेकपाले भदौदेखि कार्तिक महिनासम्म जनप्रतिरोध अभियान संचालन गरिरहेको छ । साथै उनले दलाल संसदीय व्यवस्थाका सरकारले गर्ने सबैखाले चुनाव खारेज गरिने स्पष्ट पारे । र, देशमा क्रान्ति अगाडि बढिसकेको र दमनको योजना त्याग्न सरकारलाई चुनौति दिए ।

प्रतिक्रियाहरु

[anycomment]