लोकतान्त्रिक र बाम गठबन्धन सकसमा

२०७४ आश्विन २३ गते, सोमबार

काठमाडौं, २३ असोज । लोकतान्त्रिक र बाम दुबै गठबन्धन आसन्न निर्वाचनका लागि सीटको भागबण्डा गर्न नसकेर सकसमा परेका छन् । दुई ठूला दलको नेतृत्वमा अलग अलग गठबन्धन घोषणा गरिए पनि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सीटमा गठबन्धनकारी दलको चित्त बुझाउनु दुबैका लागि फलामे चिउरा चपाउनुसरह बनेको देखिँदैछ । हिजो नै सीट बाँडफाँड सकाउने भनेको वाम गठबन्धन अझै टुंग्गोमा पुग्न सकेको छैन भने लोकतान्त्रिक गठबन्धनमा त अरु दलले नसोचेको ढंगले सीट दावी गरेपछि कांग्रेस समेत झस्किएको छ । मधेश केन्द्रित राजनीति गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभातर्फ ५५ सीट दाबी गरेपछि कांग्रेसलाई निल्नु न ओकल्नु भएको छ ।
उता, एमाले र माओवादी केन्द्रले पनि सीट बाँडफाँड गर्न सकेका छैनन् । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सीट मिलाउने समझदारी गरेपनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सीट दावी गरेको छ । तीनै दल निष्कर्षमा पुग्न सकेका छैनन् । आज बस्ने बैठकले सीट बाँडफाँडको खाका ल्याउन सक्ने एमाले महासचिव इश्वर पोखरेलको आशा छ । दुबै कार्यदलमा जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणामलाई आधार मानेर क्षेत्र छुट्टाइने भन्ने सैद्धान्तिक सहमति छ । तर अझै कुनै निष्कर्ष नभएको हो ।

प्रतिक्रियाहरु

[anycomment]