नेकपाद्वारा मजदुरमारा क्यासिनो मालिकको षड्यन्त्र खारेज

काठमाडौँ , २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले आफ्नो पार्टी र प्रवक्ता प्रकाण्डविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् । महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले पार्टी र पार्टीका प्रवक्ता प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले पार्टीलाई गम्भीर बनाएको बताएका छन । उनले केही समय देखि आफ्नो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूरमारा क्यासिनो मालिकले पार्टी र प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको खारेज गरेको बताएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ – “२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री शरदकुमार गौचनको काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको घटना रहेकोछ । यो घटनाले राज्यभित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गर्दछ । उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ । राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।
हाम्रो देशमा संसदीय व्यवस्था असफल छ साथै सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने हाम्रो पार्टीको निस्कर्ष सही सावित हँुदै गएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह गछौं साथै यस दुःखद घडिमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । एउटा विडम्वना श्री शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर आजै मात्र नागरिक दैनिकमा साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ । केही समय देखि हाम्रो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूर मारा क्यासिनो मालिकले पार्टी प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको पनि हामी खारेज गर्न चाहन्छौं । ”