भ्रामक समाचारलाई लिएर उत्तेजित र आतंकित नहुन प्रतिक्रियाबादीहरुलाई चेतावनी

काठमाडौँ , २५ असोज । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ ‘ नामक राजनीतिक प्रस्ताव व्यापक बहस र छलफल गरि एकमतले पारित गरेको छ । बैठकले बर्तमान राजनीतिक परिस्थितिको गम्भीर समिक्षा गर्दै देश एकपछि अर्को दलालीकरणतिर गएको , दलालहरुको गठबन्धन एकपछि अर्को बन्दै गएको र यसले जनयुध्दको उपलब्धि नामेट पार्दै जान लागेको निष्कर्ष निकालेको बताइएको छ । बैठकले माओबादी केन्द्र र एमालेको गठबन्धन साम्राज्यबादीहरुद्वारा निर्देशित भएको निचोड निकालेको छ । बैठकले नेपालका कथित बामरुपका संसदीय दलालहरुको र कथित बामरुपका दक्षिणपन्थीहरुसंग क्रान्तिकारी दल ,नेता- कार्यकर्ता र जनताहरुलाई समेत सचेत रहन अपिल गरेको छ । यसैगरी बैठकले नेपालका सबै माओबादी र क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकृत र ध्रुविकृत गर्ने निर्णय लिएको बताइएको छ । बैठकले नेकपा क्रान्तिकारी माओबादी, माओबादी केन्द्र , एमालेलगायतका दलका क्रान्तिकारी नेता, कार्यकर्तालाई एकीकरण र ध्रुविकरणमा सामेल गराउने नीति लिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले गलत र भ्रामक समाचारमा बिश्वास नगर्न पार्टीका कार्यकर्ता र आम जनतालाई अपिल गरेका छन । उनले हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकको निर्णयहरु भन्दै आएका समाचारहरु गलत र भ्रामक भएको भन्दै सो अपिल गरेका हुन । प्रवक्ता प्रकाण्डले त्यस्ता भ्रामक समाचारलाई लिएर उत्तेजित र आतंकित नहुन प्रतिक्रियाबादीहरुलाई चेतावनी समेत दिएका छन ।