‘प्रचण्ड रअ , सिआइए, दलाल, तस्कर, ठेकेदारको घेरामा ‘

२०७४ आश्विन २८ गते, शनिबार

काठमाडौँ , २८ असोज । नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका नेता लोकेन्द्र विष्टले प्रचण्ड विदेशी एजेन्टका साथै दलाल, लोभी–पापीका घेरामा रमाइरहेको आरोप लगाएका छन् । उनले सहिद परिवार र इमान्दार नेता–कार्यकर्ताले भेट्न नपाउने तर ‘रअ’ र सिआइएका एजेन्टका एजेन्टलाई प्रचण्ड निवास चौविसै घण्टा खुला रहेको बताए । नेता विष्टले एक अनलाइनलाई दिएको अन्तरवार्तामा प्रचण्ड चार घेरामा बसेको बताएका छन् ।
“पहिलो घेरा परिवारको हो । दोस्रो घेरा पार्टीका दलाली, गुलामी, चाटुकारी र चुकुली गर्नेको छ । तेस्रो अलिकति लोभी–पापी उद्योगपति, ठेकदारको घेरा, जसले प्रचण्डलाई पट्याएर फाइदा लिन खोज्छ । अर्को घेरा भनेको ‘रअ’, सिआइएलगायत विदेशी जाजुसी संस्था र अन्तिम घेरा प्रचण्डलाई कसरी गुल्ट्याउने भन्नेहरुको छ” विष्टले भनेका छन् ।
नेता विष्टले प्रचण्डले सोही घेरा तोड्न नसकेका कारण माओवादी आन्दोलन अहिलेको अवस्थामा पुगेको बताए । उनले भने, “प्रचण्डले आफ्ना नजिकका सहयोद्धा कमरेडको पहिलो घेरा, सहयोगी र शुभचिन्तकको दोस्रो घेरा, आफूलाई सहयोग र समर्थन गर्ने अन्तर्राष्ट्रिय निकायको तेस्रो घेरा, जनसाधारण जो सहिद चौथो घेरा, अनि घाइते र अपांग आदिको घेरा बनाउनु पर्थ्यो ।”
नेता विष्टले माओत्सेतुङले जस्तै सबै जिल्लाका सहिद परिवार र घाइतेलाई ठूलो हलमा बोलाएर भेट्ने र कुराकानी गर्नु आफूहरुले प्रचण्डलाई पटक पटक सुझाव दिएको तर सुनुवाई नभएको बताए । प्रचण्डको सचिवालय चुस्त नभएर सधैँ ‘ल्याङ्फ्याङ’ भएको समेत नेता विष्टले अन्तरवार्ताको क्रममा भनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]