मुक्तिको लागि विद्रोहमा उत्रिन आह्वान

२०७४ कार्तिक ८ गते, बुधबार

काठमाडौं , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन आम जनतालाई आह्वान गरेका छन । नेकपाद्वारा काठमाडौंको खुला मञ्चमा आयोजित अक्टोवर क्रान्तिको शतवार्षिकी दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित भन्दै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलाली बाट मुक्त हुन विद्रोहमा लाग्न आह्वान गरेका हुन् ।
साथै महासचिव विप्लवले दलाल पुँजीपतिहरुको सम्पति खोसेर राष्ट्रियकरण गर्ने अभियानको नेतृत्व अाफ्नाे पार्टीले गर्ने बताएका छन् । महासचिव विप्लवले आफ्नो पार्टीलाई शान्तिपूर्ण तरिकाले जनताका काम गर्न नदिइए बन्दुक बोक्न बाध्य हुने समेत चेतावनी दिए ।
महासचिव विप्लवले रगतको भेलबाट जन्मिएको सपना जिउँदै भएको बताउदै बलिदान गरेर पनि नेपाल र नेपालीलाई मुक्त बनाउन तयार भएको ठोकुवा गरे । नेपाललाई मुक्त गराउन दलाल व्यवस्थाबाट सम्भव नभएकाले यसको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु पर्ने महासचिव विप्लवको ठोकुवा छ ।
सोही कार्यक्रमा बोल्दै नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउँनु पर्ने बताए । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरि सोभियत सत्ता सञ्चालन गरेको उनले बताए ।
यसैगरी सो पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताए । अक्टोबर क्रान्ति सम्पन् भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नु पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]