‘क्रान्तिद्धारा बैज्ञानिक समाजवाद ल्याउनुको विकल्प छैन ‘

काठमाडौ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले दमन गरेकै कारण यो क्षेत्र क्रान्तिको लालकिल्ला बनेको बताएका छन् । आसन्न प्रदेश तथा संघको निर्वाचन खारेजी अभियानको क्रममा कालिकोटमा भएको आम सभालाई संवोधन गर्दै प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले चरम विभेद गरेकाले जनयुद्धमा आम मानिस सहभागी भएको बताए । कर्णालीबाट जनताको मत लिएर जाने नेताहरुले काठमाण्डौं पुगे पछि उतै अल्झिने र आफू कर्णालीको सांसद नभएको जस्ता तर्क गर्ने गरेका थिए भन्दै प्रकाण्डले अबको एकीकृत जनक्रान्तिमा पनि कर्णालीले बिशेष भूमिका खेल्ने ठोकुवा गरे । जनतामाथि उत्पीडन कायम रहेकाले क्रान्तिद्धारा बैज्ञानिक समाजवाद ल्याउनुको विकल्प नरहेको प्रकाण्डको ठोकुवा छ ।
प्रकाण्डले कर्णालीका जनता र नेता रगतको भेलबाट जन्मिएको सपना जोगाएर राख्न सक्षम रहेको बताउदै दलाल र लुट खसोट गर्नेहरु बाट नेपाललाई मुक्त गराउन दलाल व्यवस्थाबाट सम्भव नभए बताए । उनले यस दलाल व्यवस्थाको अन्त्यको लागि गाउ गाउबाट दलाल र तिनका प्रतिनिधिलाइ लखेट्नु पर्ने बताए । नेपाली जनताले दश वर्ष लडेर प्राप्त गरेको अधिकार खोसिएको भन्दै अब उनिहरुको विरुद्ध अन्तिम संघर्ष गर्नु पर्ने उनको भनाइ छ । कालिकोटको सदरमुकाम मान्मा बजारमा आयोजना गरिएको बिशाल जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले प्रचण्ड र बाबुरामको दिमागमा क्रान्ति रित्तिसकेको भन्दै कुनै पनि भ्रममा नपर्न समेत अपिल गरे ।