दमन गरे सिंहदरबारमा बम पड्काउने चेतावनी

२०७४ कार्तिक २६ गते, आईतवार

काठमाडौं, २६ कात्तिक। नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ले राज्यले सत्ताको आडमा आफुहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन् । कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दै नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौमा केन्दृत हुने बताए । “राज्यले थोपरिरहेको युद्धका विरुद्ध हामीले क्रान्तिको नयाँ मोडेल अगाडि सारेका छौं । अब जनताको घर आँगनमा हैन, दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा लडाई हुन्छ” रणवीरले भने ।
देश र जनताको जीवनमा परिवर्तन ल्याउने कुरा प्रधान भएको भन्दै बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि स्थापना गर्न नसक्ने बताए । प्रचण्ड–बाबुरामले संसदबादी दलसँग आत्मसमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउँदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे । चुनाव खारेजी अभियनको सिलसिलामा नेकपा कालिकोटको आयोजनामा शनिबार जनसभाको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै पुर्वसभासद तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ले सिंहदरबारले किसान, मजदुर, दलित, महिला, श्रमिक जनताको शान्तिपुर्ण आवाज नसुनेकाले आफू फर्किएर जनताको बिचमा आएको बताइन् । जिल्ला पार्टी इन्चार्ज लोकजंङ्ग शाही ‘समर’ले कालिकोट सधैं क्रान्ति र परिवर्तनको पक्षमा उभिएको स्मरण गर्दै आगामी मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बहिस्कार गर्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा सेती ब्युरो सदस्य हिमशिखर, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य सुनिता बम ‘कामना’, राष्ट्रिय युवा जनस्वंयमसेबकका कर्णाली ब्युरो संयोजक दिनेशलगायतले आगामी चुवाबमा मतदान नगर्न अपिल गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]