एमाले उम्मेदवारलाई ‘जनयुद्धको सिआइडी’ भन्दै झण्डा च्यातेपछि …

२०७४ कार्तिक ३० गते, बिहीबार

काठमाडौं, ३० कात्तिक । । जनयुद्धका सहिदका छोरा तथा वाइसिएल अध्यक्ष तुफान ओलीले नेकपा एमालेका प्रदेस सभाका उम्मेदवार गुलावजंग शाहलाई ‘जनयुद्धको सिआईडी’ भन्दै झण्डा च्यातेका छन् ।
चुनाव प्रचारको क्रममा बुधबार बागचौर नगरपालिका पुगेका शाहको प्रचारलाई अवरोध गर्दै तुफानसँगै वाइसिएलका वरिष्ठ उपाध्यक्ष मदन बस्नेतले झण्डा च्यातेका हुन् । शाहको चुनावी कार्यक्रम प्रभावित भएको छ । एमालेको झण्डा फालेको भन्दै माओवादी केन्द्रका नेताहरुले प्रहरीलाई खबर गरेका थिए । उनीहरु घरबाट भागेका छन् भने प्रहरीले खोजि गरिहेको छ ।
“गुलावजंग जनयुद्धको सिआईडी हो, हामीसँग भोट माग्न गाउँमा आएको देखेपछि बुबालाई सम्झेँ । हामीले एमालेको झण्डा फाल्यौं, हाम्रै पार्टीका जिम्मेवार नेताहरुले प्रहरी बोलाएर गिरफ्ता गराउन लगाउनु भयो । हामी भागेर जंगलमा छौं” सहिद नविन ओलीको छोरा तुफानले अनलाइन डबलीसँग भने ।
जनयुद्धमा गाउँका जनतालाई सताउने शाहको प्रचारमा आफ्नो पार्टीका नेताहरु लागेको देख्दा लाज लागेको भन्दै पार्टीबाट राजिनामा दिने बताउँदै तुफानले भने,“हिजो जसले हामीलाई सुरक्षाकर्मी लगाएर हामीलाई घरमा बस्न दिएन, आज उसैको प्रचारमा नेताहरु लागेको देख्दा लाज लाग्यो । अब राजिनामा दिन्छु ।” उनी वाइसिएलको बागचौर नगर कमिटीका अध्यक्ष समेत हुन् भने मदन वरिष्ठ उपाध्यक्ष ।
सहिद नविन ओली तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए । उनी पाल्पामा भएको लडाइँको क्रममा सहिद भएका थिए ।
त्यसैगरी वाइसिएलका वरिष्ठ उपाध्यक्ष तथा बाल छापामार मदन बस्नेतले पनि आफूहरु कुनैपनि हालतमा एमाले उम्मेदवार शाहलाई भोट नदिने बताए । उम्मेदवार शाहले सुराकीकै कारण सेनाले आफूलाई बस्न नदिएपछि बच्चाबाटै घरबार छोड्ने परेको बस्नेतले बताए ।
“गुलावजंगले सुराकी गरेर शाही सेना घरमा पठाउँथे, म घरमा बस्न नपाएर बच्चाबाटै माओवादीसँगै हिड्‍न बाध्य भएँ । अहिले उनै गुलावजंग हामीसँग भोट माग्न आए, हामीले सहन सकेनौं । झण्डा फालिदियौं” बस्नेतले भने । अाफूहरुले एमालेको झण्डा फालेको तर अाफ्नै पार्टीका नेताहरुले प्रहरी बोलाएर पक्राउ गर्न पठाएपछि फेरि घर छोड्‌न बाध्‍य भएको बस्नेतले बताए ।
तत्कालिन शाही सेना आएर घरमा दुःख दिन थालेपछि बस्नेत सानै उमेरमा जनयुद्धमा लागेका थिए । उनी बाल कलाकार हुँदै बाल संगठनको जिल्ला अध्यक्ष समेत भएका थिए ।
ओली र बस्नेतसँग बागचौरका युवाहरु माओवादी केन्द्रबाट राजिनामा दिने तयारीमा छन् । उनीहरुले बागी उम्मेदवारलाई जिताउन लागि पर्ने बताएका छन् ।
एमाले नेता तथा प्रदेश सभा (ख)का उम्मेदवार शाह जनयुद्धको सुरुदेखि नै प्रहरीको अनुसन्धान विभागको जागिरे थिए । उनले गाउँका सबै गतिविधि प्रशासनलाई दिएर जनतालाई दुःख दिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]