नेकपा विरुद्ध सुराकी गर्नेलाई गिरफ्तार गर्ने चेतावनी

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाडौँ, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक-शुभचिन्तमाथिको धरपकड र गिरफ्तारी नरोकिए सुराकी गर्नेलाई अाफ्नो पार्टीले पनि गिरफ्तार गर्ने बताएका छन् । उनले राजनीति आस्थाकै कारण गरिने गिरफ्तारी रोकिनु पर्ने बताएका छन् ।
शान्ति सम्झौताको मर्म विपरित दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्ने चुनाव भएकाले आफ्नो पार्टीले खारेज गरेको रणवीरले बताए । अनलाइन डबलीसँग कुरा गर्दै उनले अगाडि भने, “बृहत शान्तिसम्झौताको मुल मर्म विपरीत दलाल संसदीय असफल पूरानै व्यवस्था संस्थागत गर्ने चुनाव भएकोले यसको खारेजी आवश्यक भएको हो, सार पुरानो तर नयाँ स्वरुप दिएर नयाँ व्यवस्थाको भ्रम दिइएको छ । यो चुनावले देश र जनताको दलालिकरण र कंगालिकरणलाई तीब्रता दिने भएकोले खारेजी अपरिहार्य भएको हो ।”
अाफ्नो पार्टीले शान्तिपूर्ण चुनाव खारेजी अभियान लिएर जनतामा जाँदा राज्य निरंकुश र फासिवादी शैलीमा जारी दमनमा उत्रेको बताउँदै रणवीरले यसले शक्तिशाली जनप्रतिरोध जन्माउने बताए । सुराकी गरेर आफ्ना नेता-कार्यकर्ता र जनतालाई गिरफ्तार गराउनेलाई आफ्नो पार्टीले पनि गिरफ्तार गर्ने बताए । उले जनप्रतिनिधिविरुद्ध आफ्नो पार्टीमा उजुरी आउने क्रम सुरु भएको भन्दै त्यसको पनि छानविन गर्ने दोषी पाइए जनहिरासतमा राख्ने बताए । अाफ्ना पार्टीकाे नेता-कार्यकार्ता र शुभचिन्तकका घरपरिवारलाई गिरफ्तार गर्ने, मानसिक यातना दिँने सुरक्षाकर्मीले अाफ्ना घरपरिवार गाउँमा भएको कुरा भुल्न नहुने समेत रणवीरले बताए ।
सरकाले त तपाईँहरुलाई गिरफ्तार गर्न निर्देशन नै गरिसेकेको छ, अब के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा रणवीरले सरकारले चुनावमा भोट हाल्न भन्दै हतियारसहित जनतामा गएको बताउँदै आफ्नो पार्टी पनि भोट नहाल्न जनतामा जाने बताउँदै दमन जारी रहे प्रतिवाद गर्नुको विकल्प नहुँने समेत बताए ।
“उनिहरुले जसरी चुनावमा भोट हाल्न भन्दै हतियारसहित जनतामा गएका छन्, हामीले पनि जनतालाई भोट नहाल्न अपिलसहित जनतामा जान पाउनुपर्छ । यदि राज्यले फासिवादी शैलीबाट दमन गरे हामीसँग सशक्त प्रतिवादको विकल्प हुँदैन” पोलिट्ब्युरो सदस्य रणवीरले भने । उनले आफ्नो पार्टीले गर्ने प्रतिवाद कस्तो र कत्रो हुने भन्ने कुरा राज्यको रवैयामा भर पर्ने समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]