उम्मेदवारको गाडीमा बम विस्फोट

काठमाडौं, १६ मंसिर । तेह्रथुमको शुक्रबारे बजारमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेता विजय सुव्बा, माओवादी नेतृ सुशिला कन्दङवालगायत नेता चढेको गाडीमा बम विस्फोट गराइएको छ । छथर गाउँपालिका–१, आङ्दिममा गराइएको विस्फोटबाट मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ । विस्फोटबाट नेता तथा कार्यकर्ता भने सकुशल रहेको प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए । बम राख्नेको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरी बताएको छ ।
यसैगरी, सल्यानमा भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । प्रदेश सभा २ क अन्तर्गत शारदा नगरपालिका वडा नं. १ श्रीनगरमा प्रतिनिधि सभाको उम्मेदवार बसेको क्वार्टर नजिकै बन्दै गरेको घरमा बम फेला परेको थियो । अज्ञात समूहले राखेको बमलाई १६ घण्टापछि डिस्पोज गराइएको हो ।