एमाले – माकेबीच दन्तबजान सुरु

काठमाडौं , ९ पुस । एमाले र माकेबीच पार्टी एकता र सरकार गठनका बिषयमा दन्त बजान सुरु भएको छ । यी दुवै दलका नेताहरुले सार्बजनिक रुपमै एक अर्काको बिरुद्ध बिष बमन गर्न थालेका छन । यसै क्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पार्टी र सरकारमा अालोपालो हुन नसक्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलको नेतृत्वमा चुनाव सफलता भएको बताउँदै ज्ञवालीले अबको प्रधानमन्त्री ओली हुनेमा कुनै विवाद नभएको बताए । नेता ज्ञवालीले अढाई वर्षपछि अर्को प्रधानमन्त्री हुने भन्ने हुनै नसक्ने बताए । ‘पार्टी एकतापछि अालोपालो भन्ने नै रहँदैन, पाँच वर्षसम्म ओलीकै नेतृत्वमा स्थिर सरकार चल्नेछ’ उनले भने । सचिव ज्ञवालीले एमाले र माकेको एकतालाई जनताले अनुमोदन गरिसकेको भएकाले दुबै पार्टीका नेताहरु पछी हट्न नसक्ने बताए । उनले एकीकृत पार्टीमा प्रचण्डसहित बादल, प्रभाकरलगायतका नेताहरुको क्षमतालाई कसरी उपयोग गर्नेबारे छलफल हुने बताए । त्यसैगरी एमालेका नेताहरुको क्षमताको कसरी उपयोग गर्ने भन्ने विषयमा पनि टुंगोमा पुग्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू र ओलीबीच अालोपालो नेतृत्व गर्ने विषयमा सहमति भएको बताएको कुरालाई ज्ञवालीले घुमाउरो भाषामा गलत भनेका छन् । उनले पार्टी एकतापछि एउटै नेतृत्व हुने भएकाले अालोपालो नहुने दाबी समेत गरे । तर, पार्टीबीच एकता भएकाले दुबै पार्टीका नेताहरुले क्षमताअनुसार जिम्मेवारी पाउने बताए । एक अन्तरवार्ताको क्रममा ज्ञवालीले एमाले र माकेका नेताहरुको व्यवस्थापन अावश्यक नभएको बताउँदै देश र जनताको व्यवस्थापन गर्नु पर्ने अावश्यकता रहेको तर्क गरे । यसअघि एमाले महासचिव इश्वर पोखरेलले पनि अालोपालो नेतृत्व हुन नसक्ने बताउँदै अाएका थिए ।
यसैबीच शनिबार पार्टीको अान्तरिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले आफूहरुलाई बाहिरै राखेर सरकार गठन गर्न लागेको खुलासा गरेका छन् । उनले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको प्रचण्डले बताएका छन् । शनिबार नवलपरासीको कावासोतीका आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले चुनावको परिणामसँगै सरकार गठनबारे फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको बताए । प्रचण्डको आजको खुलसासँगै एकताको लागि मरिहत्ते गरिरहेका माओवादी केन्द्रका नेताहरु निरास भएका छन् ।
प्रचण्डले एमाले नेताहरुले समानुपातिक परिणाम नअाएसम्म एमाले निकै चुरीफुरी गरेको तर समानुपातिकमा काँग्रेस हाराहारी नै अाएपछि बल्ल माकेको अावश्यकता महशुस गरेको बताए । अध्यक्ष प्रचण्डले उपेन्द्र यादवले हुँदैन भनेपछि एमाले फर्किएको बताए । उनले माओवादी केन्द्रको सहयोग विना एमालेले सरकार बनाउनै नसक्ने दाबी समेत गरे । प्रचण्डको यो गम्भीर अारोपको एमालेले केही बताइसकेको छैन ।