‘अवसरवादीहरुको टाउकोमा बम हानौं’

काठमाडौं, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले कम्युनिस्ट पार्टीभित्र रहेर अवसर खोज्ने र लुट्नेहरुको टाउकामा बम हान्नुपर्ने बेला आएको बताएका छन् । १२५औं माओ दिवसको अवसरमा नेकपा जनवर्गीय संगठनहरुको संयुक्त आयोजना ‘माओ दिवस समारोह समिति’द्वारा राजधानीको अनामनगरस्थित संवाद बडलीमा आयोजित कार्यक्रमममा अध्यक्ष असारे काकाले पार्टीभित्र देखिएका अवसरवादीहरुलाई रोक्न मालेमावादी दर्शनलाई बलियो पकडनुपर्ने बताए । उनले माओले खराब प्रवृत्ति हुर्कन र फैलाउन नदिन केडक्वार्टरमा बम वर्षाउन पार्टीपंक्तिलाई आह्वान गरेका घटनालाई दिवस कार्यक्रममा स्मरण गराए । दलाल पूँजीवादी व्यवस्थालाई परास्त गर्न नेकपाले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा एक मात्र विकल्प रहेको बताउँदै नेकपा नेपाली जनताको पार्टी भएको बताए । पार्टीभित्र विभिन्न रुपका अवसरवादी र पलायनकारीलाई पन्छाएर पार्टी अगाडि बढ्नुनै माओ दिवसको सान्दर्भिकता कायम रहने बताए । कार्यक्रममा जवसका प्रमुखहरुले चीनमा सर्वहारा क्रान्ति सम्पन्न गर्नमा माओको सफल नेतृत्वको चर्चा गरेका थिए ।