‘निर्वाचन आयुक्तले नतिजा लुकाए’

२०७४ पुष १६ गते, आईतवार

काठमाडौँ, १६ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचन आयोगले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र निर्वाचन आयोगले असहयोग गरेको आरोप लगाएको छ । आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको नेम्वाङको भनाइ छ । नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको बताए । ‘मैले बुझेसम्म उहाँहरु अघि बढीसक्नुभएको थियो’ नेम्वाङले भने, ‘त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको छ । तर आयोगले किन रोक्यो ?’
नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उनले भने-आयोगले किन यस्तो गरिरहेको छ ? जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’
निर्वाचन आयोगले भने राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]