ओली निवासमा प्रचण्ड , कार्यकर्ताको व्यवस्थापन गर्न कार्यदल

२०७४ पुष १८ गते, मंगलवार

काठमाडौं, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओली बिरामी परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली निवास वालकोटस्थित पुगेका छन ।
यसैबिच , आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारिक बैठक सम्पन्‍न भएको छ । नेकपा एमालेसँगको पार्टी एकताबारे साझा धारण बनाउन बैठक बसेको थियो । बैठकले एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । त्यसको लागि नेताहरुको पदको व्यवस्थापन गर्न कार्यदल समेत गठन गरेको छ । नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर कार्यदलमा सहभागी छन् ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गरी कारवाही गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यसको लागि अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ। समितिमा नेताहरु लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।
बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा दलहरुसँग कुनै छलफल नै नगरी सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न लागेकोबारे पनि छलफल भएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]