मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्’

काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीसँग मंगलबार बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो ।
बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् । पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’ उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’ गोपाल पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा भनेका छन्, ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ ।’ साथै पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् । प्रा.डा.केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा.डा.शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन सुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।