नेपाल बार प्रधानन्यायाधीशबारे धारणा सार्वजनिक गर्दै

काठमाडौं,२८ पुस । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । बारका अध्यक्ष शेरबहादुर केसीले सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनको हैसियत के हुने भन्ने प्रश्न उब्जेको छ । एकथरी नैतिकताको आधारमा पराजुलीले कामबाट अलग बस्नुपर्ने बताइरहेका छन् भने अर्काथरी निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको जिकीर गरिरहेका छन् । यसबारेमा वकीलहरुको साझा संस्था नेपाल बार एशोसिएशनको धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।