पुनः सत्याग्रहमा उत्रने चेतावनी दिदै केसीले अनसन तोडे

काठमाडौं, २९ पुस । डा. गोविन्द केसीले छ दिने लामो आमरण अनसन तोडेका छन् । सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि उनले आमरण अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीसँगको वार्ता सहमतिमा टुंगिएपछि डा. केसीले आज अनसन तोडेका हुन् । उनले शिक्षण अस्पताल महाराजगन्जको गेटमा जुत्ता सिलाएर जिविकोपार्जन गरिरहेका सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
अनसन स्थगित गरेपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले फागुन ८ गतेसम्म राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी दिए । उनले न्यायालयलाई न्याय बिक्री गर्ने न्यायाधीश मुक्त बनाउने अभियानमा आफू लाग्ने भन्दै जुनसुकै बेला पनि सत्याग्रहमा उत्रन सक्ने बताए । प्रधानन्यायाधीश पराजुलीले शैक्षिक योग्यताका प्रमाणपत्र सार्वजनिक गर्न अटेर गरेर अदालतको अवहेलना गरेको उनको भनाइ थियो । आफूले अदालतको सम्मान गरेको भन्दै निष्पक्ष छानविनको लागि पनि प्रधानन्याधिश पराजुलीले राजीनामा दिनुपर्ने उनका भनाई छ ।