अध्यक्ष र प्रधानमन्त्री ओली नै हुने !

२०७४ माघ १० गते, बुधबार

काठमाडौं, १० माघ । नेकपा एमालेका नेता शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले सो ठोकुवा गरेका हुन् ।राईले एमाले र माओवादीवीच एकता छिट्टै हुने बताउदै आन्तरिक गृहकार्यमा जुटिसकेको र , केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरुमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्ने बताए ।’ उनले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने धारणा राखे ।
पूर्वमन्त्री समेत रहेका नेता राईले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनले पूर्णता पाउने उल्लेख गर्दै भने,‘यतिवेला हामी राष्ट्रिय सभाको निर्वाचनको तयारीमा छौं, यो निर्वाचन सम्पन्न भएपछि निर्वाचनको चक्र पूर्णता पाउँछ, यतिवेला नयाँ सरकार गठन भैसक्नुपर्दथ्यो, तर वर्तमान सरकारले अलिक बढि समय नै बस्ने रुचि देखाएकोले केही विलम्ब भएको थियो, अहिले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त भैसक्यो।’ नेता राईले आगामी फागुणको दोस्रो साताभित्रै नयाँ सरकार गठन भैसक्ने स्पष्ट पारे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने कुरामा कुनै द्धिविधा नभएको स्पष्ट पारे । राईले भने,‘फागुणको दोस्रो साताभित्रै वाम गठबन्धनको त्यसमा पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ, यसमा कुनै द्धिविधा छैन, उहाँ सर्वसम्मतीले संसदीय दलको नेता बन्नुहुन्छ।’ उनले यही माघभित्रै प्रदेश सरकारहरु गठन भैसक्ने समेत जिकिर गरे ।

प्रतिक्रियाहरु

[anycomment]