क्यान्सर पीडित मनसरको मृत्यु

काठमाडौं, १२ माघ । अाँखाको रेटिना बलास्ट भई क्यान्सर पीडित मनसर लुवारको मृत्यु भएको छ । गत जेठबाट काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार सुरु भएको थियो । कालिकोटको रास्कोट नगरपालिका–७ का रने लुवारकी चार वर्षीया मनसरा लुवारको उपचारको लागि नेपाल कम्युनिस्ट पार्टीका कालिकोटले पहल गरेर काठमाडौं ल्याइएको थियो । नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम र स्थानीय अगुवा तथा संचारकर्मी कालीबहादुर महतराले मनसराको उपचारको लागि पहल गरेका थिए ।
जेठ २० गतेबाट कान्ति बाल अस्पतालमा उपचार सुरु भइ सफल अप्रेसन भएको थियो । अस्तालले ९ वटा किमो दिइएको थियोे । अप्रेसनपछि बालिका मनसरा निकै खुशी भएकी थिइन् । निकै सुधार भएपछि फागुन १० गते चेकअपको लागि बोलाएर अस्पतालले घर पठाएको थियो । तर मनसराको माघ ६ गते नै निधन भयो । एक्कासी टाउको दुख्यो भनेर बिरामी भएर थाला परेकी थिइन् । तत्काल उपचारमा ल्याउन नसक्दा मृत्यु भएको बताइएको छ । अार्थिक अभावका कारण उपचारमा ल्याउन नसकिएको परिवारले बताएका छन् । मनसराको उपचारको लागि देश-विदेशमा रहेका धेरै नेपालीहरुले सहयोग गरेका थिए । तर, क्यान्सरको उपचार नै महंगो भएका कारण थप केही समस्या परेको थियो ।