नेकपा जनताको घरदैलोमा , तीन महिने जनजागरण अभियान सुरु हुदै

काठमाडौँ , १४ माघ । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा तीन महिने जनजागरण अभियान सुरु गर्ने तयारी गरेको छ । माघ १५ गतेदेखि सुरु हुने उक्त देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान मेचीदेखि महाकालीसम्म चल्ने बताइएको छ । संसद्वादी दलहरु संविधान कार्यान्वयन भन्दै सत्ता र सरकारको छिनाझम्टीमा लागिरहेको समयमा नेकपा भने वर्तमान देशको संकट, जनताले व्यहोरिरहेको सास्ती र संसद्वादी दलहरुको सत्तामोहलाई जनतासमक्ष नाङ्गेझार पार्न जनताको घरदैलोमा पुग्ने तयारी गरिरहेको छ । संसद्वादी दलहरु सत्ता र सरकारको भागवण्डामा रुमलिरहेको अवस्था र देशको अस्तित्वमाथि दिनप्रतिदिन बढ्दै गएको संकट, भ्रष्टाचार, कमिशन, महँगीलगायतका विषय जनतासामु पु¥याएर जनइच्छा र जनादेशमार्फत् अघि बढ्न नेकपाले उक्त अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।
माघ १५ गतेबाट नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा ३ महिने जनजागरण अभियान सञ्चालन गर्न लागेको छ । यस अभियानअन्तर्गत देशैभरिका जनतालाई देशको वर्तमान राजनीतिक अवस्था, संसद्वादी दलका कारण निम्तिएका संकट, संविधान कार्यान्वयन र निर्वाचनको नाममा जनताको अधिकारमाथि गरिएको लुटखसोट र प्रतिक्रान्ति भएकाले उक्त अभियान सञ्चालन गर्न लागिएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । प्रवक्ता प्रकाण्डले पछिल्लो समय बढ्दै गएको राष्ट्रघात वैदेशिक हस्तक्षेप, दलालीकरण र दिनप्रतिदिन कष्टकर बन्दै गएको जनजीविकाका विषयमा जनतामा राजनीतिक जागरण पैदा गराउन यो अभियान सञ्चालन गर्न लागेको बताए । अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तार गर्ने, राष्ट्र र जनताको मुद्दा र जनजीविकाको मुद्दामा केन्द्रित हुँदै जनसंघर्षलाई अघि बढाउनका निम्ति पनि यो अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।