अख्तियारका प्रमुख नै मोलमोलाई धन्दामा

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयमसेवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले भ्रष्टाचारसँग जोडिएका ठुल ठूला काण्डहरुमा ठूलो मोल मोलाइ गरिरहेको आरोप लगाएको छ । प्रमुख आयुक्त बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो थापेर घुस खुवाउने र आफैले समातेको नाटक गरिरहेको र भित्र भित्रै भने ठूला भ्रष्टाचारका काण्डमा मोलमोलाइ गरिरहेको आरोप लगाएको छ । जनस्वयमसेवकले राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रमुख आयुक्त बस्न्यातले गरेका भ्रष्टाचारका फेहरिस्त सार्वजनिक गरेको हो । बस्न्यातले राजश्व अनुसन्धान आयोगका प्रमुख चुडामणी शर्मा, पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललगायतका भ्रष्टहरुमाथि चलिरहेको मुद्दामा भित्री रुपमा जोगाउने प्रयास गरिरहेको जनस्वयमसेवकको भनाइ छ । निजामति सेवामा सधैभरि मालदार अड्डा मानिएका कार्यालयमा रहेर काम गरेका बस्न्यात २०३२ सालमा बाँके कोहलपुर सडक डिभिजन कार्यालयको लेखा अधिकृत भएका थिए , त्यसपछि उनि निरन्तर मालपोत कार्यालय, कर कार्यालय, भन्सार कार्यालयका प्रमुख तथा श्रम कार्यालय, आन्तरिक राजश्व विभाग आदिका महानिर्देशक भएको देखिन्छ । यी सबै कार्यालयहरु निकै कमाउ कार्यालय मानिन्छन् । यस्ता कार्यालयमा कमै मात्र कर्मचारीले कम्तीमा एक वा दुई पटकसम्म मात्र जाने मौका पाउँछन् । त्यो पनि यी कार्यालयमा पुग्न ठूलो कमिसनको खेल हुने कर्मचारीहरुमाझ प्रख्यात नै रहेको छ । जनस्वयमसेवकले बस्न्यातको यो पोष्टिङले नै उनले गर्ने घुस, कमिसनको खेल प्रष्ट हुने दावी गरेको छ ।
बस्न्यातको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको समेत जनस्वयमसेवकले जनाएको छ । जनस्वयमसेवकद्वारा जारी विज्ञप्तीमा बस्न्यातले किनेर ल्याएको एमएको सर्टिफिकेटका भरमा जागिर खाँदै अख्तियारको प्रमुख आयुक्तमा पुगेको दावी गरिएको छ । बस्न्यातले नेपालमा कतै पनि एमएको अध्ययन गरेको रेकर्ड नभएको र उनले अन्यत्र पनि थाहा भएका मान्यता प्राप्त शैक्षिक संस्थाबाट अध्ययन नगरेको प्रष्ट पार्दै उनले किनेर ल्याएको सर्टिफिकेटले जागिर खाएको बताइएको छ । त्यसरी जागिर खाएका बस्न्यातले अख्तियारको आयुक्त हुनुअघि आफ््नै विरुद्ध एमएको सर्टिफिकेट नक्कली रहेकोले प्रमाणित गर्न माग गर्दै वेनामी उजुरी हाल्न लगाएको र पछि अख्तियारकै पदाधिकारीसँग मिलेर त्यो मुद्दा तामेलीमा राखी अख्तियारको प्रमुख बन्न सफल भएको जनस्वयमसेवकले दावी गरेको छ । अहिले उनले भ्रष्टाचारको नियन्त्रण गर्ने नभई भ्रष्टहरुको संरक्षण गर्दै भ्रष्टाचारको बढावा दिइरहेकोले उनीमाथि कडा कारवाही गर्न जनस्वयमसेवकले माग गरेको छ ।
बस्न्यातको नालीबेली
सानालाई ऐन, ठूलालाई चैन यो नै नेपाली राजनीति र संस्कृतिको विडम्वनायुक्त विशेषता हो । खासगरी सुशासन प्रदान गर्ने भन्ने राजनैतिक नेताहरु, अझ त ठूला दलका ठूला नेताहरु, अनि सुशासन कायम गर्ने निकायका प्रमुख पदाधिकारीहरु नै कुशासनका मतियार हुँदै गएका छन् । यो नै नेपाली जनताको दुर्भाग्य बन्दै आएको छ । आधा पेट खाएर, आधा आङ छोपेर बाँचेका दुःखी जनता यी कुराप्रति बेखबर त छन नै सचेत भनिने बौद्धिक तप्का र जुझारु युवा जमातले पनि केही हदसम्म यसबाट बेखबर छन् । देश, समाज र आफ्नैका विरुद्धको यो दुर्दशाको मुकदर्शक हामी कतिसम्म बनिरहने ?
राज्यको नीति निर्माण गर्ने, दैनिक प्रशासन चलाउने र भ्रष्टाचारको नियन्त्रण गर्ने अधिकार प्राप्त व्यक्ति नै महाभ्रष्ट हुनु विडम्वना हो । तर, नेपालमा यस्तै विडम्वना नै विडम्वनाहरु छन् । जुन व्यक्ति सुशासन र सदाचार भन्छ उही कुशासन र व्यभिचारको कारक बन्दै जाने गरेका छन् । जनताको सेवा गर्ने ठाउँमा पुग्नेहरु नै जनतामाथि लुट मच्चाउँदैछन् । आजसम्मको नेपाली राजनीतिक इतिहासले यही कुराको पुष्टि गर्दै आएको छ ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त्यस्तै एक विडम्वना बन्न गएको छ । सर्पले सर्पका खुट्टा देख्छ भनेजस्तै यस आयोगमा रहनेहरु केही भ्रष्टहरुका विरुद्ध अभियान चलाइरहेको देखाउँदै त्यसको खोलभित्र आफ्नो महाधन्धा सुरु गरिरहेका छन् । महाभ्रष्टका रुपमा चित्रित भएर अन्ततः भ्रष्ट नेताहरुबाटै महाअभियोग लगाएर फालिएका लोकमान कार्कीका उत्तराधिकारीका रुपमा आइपुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वर्तमान प्रमुख झनै महाका पनि महाभ्रष्टमा परिणत भएका छन् । राजनैतिक नेताहरुलाई घुस कमिसन खुवाएर जीवनभर मालदार अड्डामा बस्न सफल आयोगका वर्तमान प्रमुख आयुक्त दिप बस्न्यात अहिले आयोगबाट ठूलो धन्दा चलाइरहेका छन् । यहाँ महाभ्रष्ट बस्न्यातका बारेका केही कुराहरु उल्लेख गरिएको छ ।
बस्न्यात सामान्य परिवारबाट प्रशासनिक सेवामा प्रवेश गरेका व्यक्ति हुन् । खोटाङ जिल्लाको एक सामान्य परिवारमा जन्मिएका बस्न्यात अहिले अर्बौ सम्पतिका मालिक छन् । उनको राजधानी काठमाडौंको बत्तिसपुतलीमा करिव ६ रोपनी जग्गामा तीन वटा ठूला ठूला महल छ । त्यससहित राजधानीमा उनको ठूलो सम्पति रहेको छ । जुन सम्पति उनको सबै पुख्र्यौली सम्पती जोड्दा, उनको देखिएको आम्दानीको स्रोतको हिसाब निकाल्दा पनि सयौ गुणा बढी देखिन्छ । उनले यो अकूत सम्पति कसरी जम्मा गरे भन्ने अध्ययन गर्दा सबै कुरा प्रष्ट हुन्छ । उनको सम्पतीको छानविन गरिनुपर्दछ ।
बस्न्यात अहिले राजनैतिक दल, निजामती प्रशासन र विभिन्न क्षेत्रमा रहेका ठूला भ्रष्टहरुको संरक्षण गर्ने र उनीहरुबाट अकूत रकम उठाउन तल्लिन छन् । अख्तियारबाट अर्बौका भ्रष्ट चुडामणी शर्मा, गोपाल खड्का, उपेन्द्रकान्त अर्याल लगायतले गरेका भ्रष्टाचारलाई सफाइ दिन, कारवाही गर्नुपर्ने स्थिति आएमा पनि उनीहरुमाथिको कारवाही कमभन्दा कम गराउन उनी दिनरात लागि परेका छन् । साना–साना व्यापारी र कर्मचारीहरुलाई आफैले घुस खान उक्साउने र आफैले पक्राउ गर्ने नाटक रच्दै बाहिर ठूलो डंका पिटेर उनले भित्र आफ्नो धन्दा चलाइरहेका छन् । अख्तियारमै मुद्दा तामेली रहेका नेपाल आयल निगमका निलम्वित प्रमुख गोपाल खड्का र नेपाल प्रहरीका पूर्व महानिरिक्षक उपेन्द्रकान्त अर्याल विरुद्ध त्यहीस्तरका मुद्दाहरुबारे उनले मोलतोल गरिरहेका छन् । जुनकुरा सञ्चारमाध्यममा व्यापकरुपमा आइसकेको छ । जबकि खडकालाई कारवाही गर्न संसदीय समितिले समेत निर्देशन दिइसकेको थियो । यसले के प्रमाणित गर्दछ भने शर्मा, खड्का र अर्याल भ्रष्टाचारी हुन नै । त्यो भन्दा पनि अझै ठूला भ्रष्ट बस्न्यात हुन् ।
बस्न्यातको शैक्षिक योग्यतामाथि पनि ठूलो प्रश्न छ । उनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर आजसम्म निजामति प्रशासनिक सेवामा बसेका थिए । उनले किनेर ल्याएको नक्कली सर्टिफिकेट पेश गरेर उच्च ओहोदा पुग्न सफल भए । उनले नेपालभर कतै पनि स्नातकोत्तर तहको अध्ययन गरेको रेकर्ड छैन । तर, उनले यतिसम्म चतु¥याइ गरेका छन कि आफ्नै विरुद्ध अख्तियारमा सुरुमा वेनामी उजुरी हाले । एकातिर आफ्नो सर्टिफिकेट प्रमाणित गरिपाउ भनेर वेनामी उजुरी हाल्ने र अर्कोतिर अख्तियारका पूर्व प्रमुखसँग मिलेर त्यो उजुरी तामेलीमा राख्न लगाए । त्यो मुद्दा तामेलीमा राखिएपछि अख्तियारको प्रमुख बन्न सफल भएका हुन ।
त्यसैगरी बस्न्यातको सर्टिफिकेट मात्र होइन उनको नागरिकता पनि नक्कली रहेको छ । उनले आफ्नो उमेर ह्वात्तै घटाएर नागरिकता बनाएका छन् । उनले आफ्नो उमेर यतिसम्म घटाएका छन् कि उनी आफ्नै सहोदर बहिनीभन्दा पनि कान्छो देखिएका छन् । बस्न्यातको नागरिकतामा जन्ममिति वि. सं.२००९ साल फागुन २ गते रहेको छ । जबकि उनकी बहिनी भगवती बस्नेत (कोइराला)को जन्ममिति २००९ साल जेठ भएको प्रमाणित भइसकेको छ । बस्न्यातले यस्ता थुप्रै नक्कली काम सुरुदेखि नै गर्दै आएको उनलाई राम्रोसँग चिन्ने उनका सहपाठीहरु बताउँछन् ।
सरकारको एउटा कर्मचारी जसले सेवा अवधिभर निकै मालदार मानिने संस्था र त्यसको पनि प्रमुख पदमा रहन पाउने अवसर कसरी उनलाई मात्र प्राप्त भयो ? उनको पदस्थापनाको विवरण यस्तो रहेको छ ।
२०३२/३/३२–०३७/३/१९ः लेखा अधिकृत कोहलपुर बनवासा सडक डिभिजन र दमक सडक डिभिजन
२०३७/३/२० – २०३९/५/१६ः मालपोत कार्यालय प्रमुख ताप्लेजुङ
२०३९/५/१७–२०४१/११/२५ः कर कार्यालय प्रमुख सिराहा लहान
२०४१/११/२६–२०४३/८/४ः मालपोत कार्यालय झापा प्रमुख
२०४३/८/५–२०४५/५/३०ः भन्सार प्रमुख त्रिभुवन अन्तराष्टिय विमानस्थल
२०४५/६/१–२०४९/८/२१ः डेपुटी डाइरेक्टर भन्सार विभाग त्रिपुरेश्वर
२०४५/६/१–२०४९/९/३ः उपसचिव सामान्य प्रशासन मन्त्रालय
२०४९/९/४–२०५१/३/३०ः उपसचिव स्थानीय विकास मन्त्रालय
२०५१/३/३१–२०५२/१/१९ः उपसचिव गृहमन्त्रालय
२०५२/१/२०–२०५२/९/२०ः कामु महानिर्देशक सूचना विभाग
२०५२/९/३–२०५४/१२/१४ः शाही नेपाली महावाणिज्य दुत कलकत्ता भारत
२०५४/१२/१५–२०५६/५/१६ः सहसचिव श्रम मन्त्रालय
२०५६/८/१७–२०५८/५/१८ः महानिर्देशक श्रम मन्त्रालय
२०५८/५/१९–२०६१/४/२२ः महानिर्देशक राजश्व अनुसन्धान विभाग
२०६१/४/२३–२०६३/११/२१ः सहसचिव अर्थ मन्त्रालय
२०६३/११/२२–२०६४/९/१५ः महानिर्देशक आन्तरिक राजश्व विभाग
२०६४/९/१६–२०६५/७/९ः महालेखा नियन्त्रक
२०६६/१/१०–२०६७/११/२ः सचिव भौतिक योजना तथा निर्माण मन्त्रालय
२०७१ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै प्रमुख आयुक्त
बस्न्यातको यो पोस्टिङले नै धेरै कुरा प्रष्ट पार्दछ । नेपाल सरकारका धेरै कर्मचारी आफ्नो सेवा अवधिभर पनि मालदार मानिएका अड्डामा जान पाउँदैनन् । अवसर पाए पनि यहाँ हुने घुस र कमिसनको खेल देखेर यसबाट टाढै भाग्ने गर्दछन् । एक दुई पटक पाइहाले पनि छोटो अवधिमै उनीहरु सरुवा हुने गरेका छन् । तर, बस्न्यात आफ्नो सेवा अवधिभर यसरी एक मालदार अड्डाबाट अर्को मालदार अड्डामा पुग्दै पुग्दै कसरी आयोगको प्रमुख आयुक्त भए भन्ने कुरा प्रष्ट हुन्छ । एउटा मालदार अड्डाबाट अरेको ठूलो मालदार अड्डामा, अर्कोबाट फेरि कमाउ अड्डामा पुग्दै पुग्दै उनले ४४ वर्ष बिताएको देखिन्छ । घुस खाने मात्र नभई घुस दिने, घुस खान उक्साउने, कमिसनको खेल सञ्चालन गर्ने, गलत वातावरण सिर्जना गर्ने वा गलत संस्कार बसाल्ने व्यक्ति झन खतरानाक हुन्छ । त्यो खतरानाक सामाजिक अपराध हुन्छ । बस्न्यातले ४४ वर्ष नेपालको प्रशासनिक क्षेत्रमा बसेर त्यो अपराध गरेका छन् । त्यसकारण उनीमाथि गहिरो छानविन गरी कडाभन्दा कडा सजाय दिइनुपर्दछ ।
हाम्रो अभियान भ्रष्टाचारका विरुद्धमा हो । हाम्रो अभियान कुशासनका विरुद्धमा हो । सबै नेपालीले गहिरो गरी बुझ्नुपर्दछ कि यो गलत राजनीतिक प्रणालीको परिणाम पनि हो । राजनीतिक प्रणालीको आडमा लुकेर राष्ट्रको सम्पति दोहन गर्ने र भ्रष्टाचारको महारोग फैलाउने प्रमुख पात्रहरु जनताबाट दण्डित हुन जरुरी छ । यदि नेपाल सरकारबाट बस्न्यात र यस्तै महाभ्रष्टहरुमाथि कुनै कदम नचालेको खण्डमा जनभावनाको सम्मान गर्दै हाम्रो संगठन त्यसका विरुद्ध दवाव तथा भण्डाफोर अभियानमा उत्रने उद्घोष गर्दछ । साथै यो अभियानमा निरन्तर जारी राख्ने जानकारी गराउँदै त्यसमा साथ दिन आम युवावर्गमा अपिल गर्दछ । साथै सचेत बौद्धिक सुमदाय विभिन्न तह र तप्कामा रहेका इमान्दार राष्ट्रप्रेमी, देशभक्त, जनवादी शक्तिहरुमा यो अभियानमा हातेमालो गर्न पनि हामी अपिल गर्दछौ ।
बाबुराम राई
संयोजक
राष्ट्रिय युवा जनस्वयमसेवक